ऐन महरको अग्नि परिक्षा: जिते सिंहदरबार, हारे कतार!?

Masta Gaupalika

बझाङको सेती नदीमा धेरै पानी बग्यो, तर एमालेका युवा नेता ऐन महरको राजनीतिक प्यास भने अझै मेटिएको छैन । २०७९ को चुनावमा ९९८ मतको झिनो अन्तरले ‘सपनाको महल’ भत्किएपछि, यसपटक उनी फेरि त्यही महल ठड्याउन मैदानमा छन् । तर , यसपटकको बाटो २०७९ को भन्दा पनि बढी खाल्डाखुल्डी र काँडाहरूले भरिएको छ ।

​’किङ्ग मेकर’ मरहको आफ्नै अग्नि परीक्षा
​विद्यार्थी राजनीतिबाट उदाएका र काठमाडौँमा बझाङी विद्यार्थीका ‘मसिहा’ मानिने ऐन महर यतिबेला आफ्नै गृहजिल्लाको चुनावी मैदानमा कडा संघर्ष गरिरहेका छन् । हिजोका दिनमा मानप्रसाद खत्री , भैरव बहादुर सिंह र दमन भण्डारीलाई चुनाव जिताउन काँध थापेर ‘किङ्ग मेकर’ को भूमिका निर्वाह गरेका महरलाई आज आफैँलाई सुरक्षित अवतरण गराउन हम्मे-हम्मे परिरहेको छ ।

रोचक कुरा के छ भने, बझाङ एमालेको इतिहासमा ऐन महर त्यस्ता पात्र हुन् , जसले अरूलाई सांसद बनाउन आफ्नो पूरा शक्ति र युवा दस्ताको भर्‍याङ लगाइदिए । हिजोका दिनमा मानप्रसाद खत्री , भैरव बहादुर सिंह र दमन भण्डारी जस्ता नेताहरूलाई सिंहदरबार छिराउन महरको भूमिका निर्णायक रह्यो ।

​विद्यार्थी नेताको रूपमा महरसँग भएको ‘युवा जोस’ र काठमाडौँमा संघर्षरत हजारौँ बझाङी विद्यार्थीहरूको ‘भोट बैंक’ लाई यी नेताहरूले भरपुर प्रयोग गरे । त्यतिबेला महरले आफ्नो व्यक्तिगत महत्त्वाकांक्षालाई थाती राखेर, अनेरास्ववियुको बलियो संगठन परिचालन गरी यिनलाई जिताउन दिन-रात नभनी काँध थापे । अरूका लागि चुनावी वैतरणी तारिदिने ‘मल्ला’ आज आफ्नै डुङ्गा बीच भँवरमा पर्दा किनार खोज्न संघर्षरत देखिन्छन् ।

भित्रैबाट ‘खिया’ लागेको सूर्य !
​भनिन्छ , “घर जलेपछि खरानीको के माया?” तर यहाँ त घरभित्रैका मान्छेले सलाई कोरेको चर्चा छ । एमालेका जिल्लास्तरीय ‘हेभीवेट’ नेताहरू अफिलाल ओखेडा र आशा बिकको मौनता कुनै रणनीति होइन , यो ऐन महरका लागि ‘मन्द विष’ साबित हुन सक्छ । फेसबुकमा सूर्यको फोटो टाँसेर काठमाडौँको न्यानो कोठामा बस्ने यी नेताहरूको शैलीले स्पष्ट पार्छ — “मुखमा राम राम , काखमा बन्चरो ।” सुर्माका शेर बहादुर बोहोरा र चैनपुरकि सविता खड्कासँगको ‘पानी बाराबार’ को स्थितिले महरलाई आफ्नै गढमा ‘अपरिचित’ बनाउने खतरा छ ।

​’साझा’ कुँवरको दबाब र ‘घण्टी’को थर्काइ
यसपटक महरका सामु मीनबहादुर कुँवर पहाड बनेर उभिएका छन् । नेकपा ( एस ) र माओवादीको साझा उम्मेदवार बनेका कुँवरले २०७९ मा भानुभक्त जोशीले पाएको २८,४१३ मतको विरासत जोगाउने प्रयास गरिरहेका छन् । रोचक त के छ भने , बालेन शाहको बुङ्गल भ्रमण र रास्वपाको ‘घण्टी’ ले पुराना दलहरूको निदहराम गरिदिएको छ । एक धामी थरकी महिलाको प्रभावले महरको ‘मसिहा’ छविलाई चुनौती दिइरहेको छ ।

महरमाथि शनि, राहु र राजनीतिक ‘दशा’
​२०७९ यता महरका लागि समयको काँटा उल्टो घुम्यो । सधैँ चर्चा र चमकधमकमा रहने महरलाई एउटा महिलासँगको सम्बन्ध र अदालती चक्करले यति थकायो कि, उनका कयौँ रातहरू ‘अन्दिन्द्रा’ मै बिते । यो निर्वाचन उनका लागि राजनीतिक जित मात्र होइन, ती सबै दागहरू पखाल्ने ‘गंगा स्नान’ पनि हो ।
​विश्लेषकहरू भन्छन् : “ऐन महरले यसपटक नजिते, बझाङमा उनको ‘क्रेज’ मात्र सकिने छैन, उनको यात्रा कता? वा कतारतिर पो होकी?”
शक्ति सन्तुलन : दमनको साथ कि मित्रको घात?
​महरसँग दमन भण्डारी, नैन बोहोरा लगायतको टिम छ । साथै, युवा संघको पुरै टिम र अनेरास्ववियुको टिम उनिसँगै छ । तर के यो टिमले एमालेभित्रैको ‘अन्तर्घातको सुरुङ’ थुन्न सक्ला? महरलाई हराउन बाहिरी दुश्मन भन्दा भित्री ‘मित्र’ हरू नै बढी सक्रिय देखिन्छन् ।
​यो उपनिर्वाचन महरका लागि “गर या मर” को स्थिति हो । जिते सिंहदरबारमा उनको गर्जन सुनिनेछ , हारे बझाङको इतिहासमा उनी एउटा ‘असफल खेलाडी’ को रूपमा सीमित हुनेछन् । बझाङी जनताले यसपटक ऐनलाई प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित ‘ऐन’ बनाउँछन् वा ‘ऐना’ देखाउँछन् ? त्यो हेर्न फागुन २१…!

Loading...