पोखरा: भाइबर एजुकेशन फाउन्डेसन एण्ड ओपन होस्टलले आफ्नो ५औँ वार्षिकोत्सव तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। भाइबर होस्टलका सञ्चालक मेख पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जनहित मा.वि. का प्र.अ. रामचन्द्र अधिकारी प्रमुख अतिथि र गौरीशंकर मा.वि. का पूर्व प्र.अ. चतुरमान श्रेष्ठ विशेष अतिथि थिए । कार्यक्रममा पुरुषोत्तम कुँवर, गोविन्द सापकोटा, कमलपति शर्मा, मिन बहादुर सावद, अम्बिक बराल, डोर्णाराज भुर्तेल, तुल्सी प्रसाद भण्डारी, बुद्धि सापकोटा, हरि गौतम, हरि कुँवर, मन बहादुर भुजेल, मुकेश कुमार अधिकारी, राम खत्री, हिमलाल न्यौपाने, मोहन बराल, युवराज आचार्य, सुराज सुवेदी, सुरेन्द्र देवकोटा र रोजित बराल लगायत विभिन्न संस्थाका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियो ।
वार्षिकोत्सवको अवसरमा SEE र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरियो । SEE २०८१ मा ३.८८ GPA ल्याउने सिलिजा आचार्य र ३.८७ GPA ल्याउने समीर आचार्य सम्मानित भए । त्यस्तै कक्षा १२ को परीक्षामा ३.७८ GPA ल्याउने किशोर रिजाल र ३.५६ GPA ल्याउने विपना केसीलाई पनि सम्मान गरियो । विद्यार्थीका साथै धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू कृष्ण अधिकारी, पुरुषोत्तम कुँवर, अम्बिक बराल, भगवान बाँस्तोला, डोर्णाराज भुर्तेल, हरि कुँवर, दीपक पोख्रेल, कमलपति शर्मा, तुलाराम पौडेल र गणेश सुवेदीलाई पनि सम्मान गरियो । जम्मा ३२० जनाको उपस्थिति रहेको यो कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत भएका थिए ।
कार्यक्रममा बोल्दै सञ्चालक मेख पोख्रेलले विद्यार्थीका लागि एउटा ठुलो घोषणा गरे । उनले आगामी शैक्षिक सत्र २०८२ को SEE वा कक्षा १२ को परीक्षामा ३.९ भन्दा माथि GPA ल्याउने होस्टलका विद्यार्थीलाई एक हप्ताको सिङ्गापुर भ्रमण गराउने वा कक्षा ११/१२ निःशुल्क पढाइदिने प्रतिबद्धता जनाए । यसैगरी कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले पनि आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

तुलाराम पौडेलले सञ्चालन गरेको यो कार्यक्रम सभ्य र भव्य रूपमा सफल भएकोमा सञ्चालक पोख्रेलले सबैलाई धन्यवाद दिए । शिक्षक, विद्यार्थी र शुभचिन्तकको मायाले नै आफूलाई काम गर्ने उर्जा मिलेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै साथको अपेक्षा राखेको उल्लेख गरे ।