निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध, सामाजिक सञ्जाल निगरानी कडा

Masta Gaupalika

बझाङ : नेपाल सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर ड्रोन उडान निषेध गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउने उद्देश्यले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए । उनले निर्वाचनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताए ।
उनका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानीका लागि विशेष टोली परिचालन गरिएको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको पनि उनले बताए । प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमा व्यवस्था, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक व्यवस्थापनका तयारीहरू भइरहेको जानकारी दिए । गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन निर्देशन दिइसकेको उनले बताए ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका तयारी, जनशक्ति परिचालन र बन्दोबस्ती योजनाको समीक्षा गरी थप प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्क रहन आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण वा कसैलाई लाञ्छना लगाउने सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ । यस्ता गतिविधि गरेमा कानुनी कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

Loading...