
बझाङ : नेपाली काङ्ग्रेस बझाङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली स्नेही साइपाल गाउँपालिका पुगेर फर्किएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा उनी साइपालको धलौन क्षेत्रमा पुगेका हुन् ।
भ्रमणका क्रममा रसाइलीले साइपालबासीको कठिन जनजीवनलाई नजिकबाट अवलोकन गर्दै स्थानीय जनताको मुख्य समस्या बुझ्ने प्रयास गरेका छन् । उनले विकट भौगोलिक अवस्थाका कारण साइपालले भोगिरहेको स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत आधारभूत सेवासम्बन्धी चुनौतीबारे स्थानीयबासीसँग बृहत छलफल गरेका थिए ।
स्थानीयबासीहरूले उपचारका लागि लामो दूरी पार गर्नुपर्ने बाध्यता, गुणस्तरीय शिक्षाको अभाव, सडक तथा सुरक्षित खानेपानीको समस्या प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका थिए ।
रसाइलीले साइपालको विकासका लागि राज्यको ध्यानाकर्षण गराउने र विकट क्षेत्रका जनताको आवाज संघीय संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।