
बझाङ : प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली स्नेही मंगलबार तलकोट गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा पुगेका छन् । तलकोट गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शैलेश सिंहको गृह पालिका हो, जहाँ अहिले दुई प्रमुख उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
रसाइली तलकोट पुगेपछि स्थानीय मतदातासँग भेटघाट गर्दै जनताका समस्या र अपेक्षाबारे छलफल गरेका छन् । त्यहाँको स्वास्थ्य, शिक्षा, पुर्वाधार, खानेपानी र रोजगारीजस्ता विषयमा स्थानीयबासीले उठाएका समस्याहरू उनले ध्यानपूर्वक सुनेको उनका सहयोगीहरूले बताएका छन् ।
तलकोट आगमनका क्रममा स्थानीयले रसाइलीलाई भव्य स्वागत गरेका थिए । चुनाव नजिकिँदै जाँदा तलकोट क्षेत्रमा राजनीतिक माहोल थप तातिएको छ, जहाँ कांग्रेस र रास्वपाका उम्मेदवारबीच जनसमर्थन जुटाउने होड तीव्र बन्दै गएको छ ।
दुवै उम्मेदवार संसद प्रवेश गर्ने लक्ष्यसहित मतदाताको मन जित्न सक्रिय रूपमा मैदानमा छन् । आगामी निर्वाचनमा तलकोट गाउँपालिकाको मत परिणामले बझाङ क्षेत्रको समग्र चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।