धम्पुस: कास्कीको पर्यटकीय गाउँ धम्पुसस्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक (ट्रयाकसुट) वितरण गरिएको छ । ब्रेकन–धम्पुस ट्विनिङ एसोसिएसन र धम्पुस परिवार युकेको संयुक्त पहलमा आयोजित एक विशेष समारोहका बिच विद्यार्थीहरूलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ब्रेकन–धम्पुस ट्विनिङ एसोसिएसनका संयोजक तथा धम्पुस परिवार युकेका संरक्षक मेजर खुसीमान गुरुङ (MVO), उहाँकी धर्मपत्नी मन्जु गुरुङ, धम्पुस परिवार युकेका पूर्व अध्यक्ष अमर गुरुङ र वरिष्ठ उपाध्यक्ष तथा पृथ्वीनारायण माविका पूर्व विधार्थी गोलमान गुरुङ लगायतको सहभागिता थियो । साथै, सामग्री वितरण कार्यक्रममा बेलायतबाट आएका विदेशी पाहुनाहरू ज्याकी थोमस, क्यारोल हर्ट, नाइजल हेक्सटेल र निक्की को विशेष उपस्थिति रहेको थियो ।

वडा नं. ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीको प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एम बहादुर गुरुङले सहयोगी संस्थाहरूको खुलेर सराहना गरेका थिए । विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर मिजारले वैदेशिक क्षेत्रबाट प्राप्त यो सहयोगले विद्यार्थीहरूको शैक्षिक मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

सामग्री हस्तान्तरणका क्रममा विद्यार्थीहरूले मौलिक भेषभूषामा सजिएर पाहुनाहरूको स्वागत गरेका थिए । यो सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै धम्पुस र ब्रेकन शहरबीचको भगिनी सम्बन्धलाई जनस्तरसम्म पुर्याउन मद्दत पुगेको स्थानीयले बताएका छन् ।

विद्यालय पोसाकमा सजिएका विद्यार्थीहरूले विदेशी पाहुनाहरू ज्याकी थोमस, क्यारोल हर्ट, नाइजल हेक्सटेल र निक्कीलाई आफ्नै मौलिक भेषभूषा र स्वागत सत्कारका साथ स्वागत गरेका थिए । विदेशी पाहुनाहरूले आफ्नै हातले नयाँ ट्रयाकसुट वितरण गर्दा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । यसले विद्यार्थीहरूमा पढाइप्रति थप ऊर्जा र अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ अनुभव समेत प्रदान गरेको छ ।
सामग्री वितरण कार्यक्रममा धम्पुस–ब्रेकन ट्विनिङ एसोसिएसनका संयोजक तथा धम्पुस परिवार युकेका संरक्षक मेजर खुसीमान गुरुङ (MVO) ले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै विशेष मन्तव्य राखेका थिए ।

उनले आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि बेलायतमा रहेका धम्पुसबासीहरू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
