अरोमा कलेज भरतपुर चितवनमा अध्यापन गराउने शिक्षक रामकृष्ण सुवेदीले बालिका विद्यार्थीहरुमाथि पटक पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कलेजका विद्यार्थीहरू आन्दोलित छन् । सोही विषयमा सोधपुछ गर्न गएका विद्यार्थी नेतामाथि हातपात भएको छ ।
नेकपा माओवादी केन्द्रको पवन कार्की नेतृत्वको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका नेताहरूमाथि कलेज हाताभित्र कुटपिट गरिएको छ ।
सङ्गठनका चितवन जिल्ला संयोजक विकास कोइराला, जिल्ला कार्यालय सदस्य सुशील कार्की माथि कलेज हाताभित्र प्रहरी प्रवेश गरी कुटपिट गरी हातमा हतकडी सहित करिब २ घण्टा गिरफ्तार गरेको र आन्दोलित विद्यार्थीहरू माथि लाठी चार्ज गरी घाइते बनाएको बताइएको छ ।
छात्रा माथिको यौन दुर्व्यवहार गर्ने र आफ्ना नेताहरूमाथि कुटपिट गर्ने कार्यको अखिल (क्रान्तिकारी) ले भर्त्सना गरेको छ ।
‘अन्यायका विरुद्ध आवाज उठाउने विद्यार्थी माथि कलेज प्रशासन सँगको मिलेमतोमा प्रहरी प्रशासनको कलेज हाताभित्रको यस्तो निन्दनीय हरकत प्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, ‘तत्काल यौन दुर्व्यवहार गर्ने शिक्षक कर्मचारीलाई निष्कासन गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित छात्राहरूलाई न्यायको अनुभूति दिलाउन सम्पूर्ण सम्बन्धित निकायहरूलाई अनुरोध गर्न चाहान्छौं ।’