दार्चुला : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आ.व. २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा अपिहिमाल गाउँपालिका ७६.१४ अंकसहित दार्चुला जिल्लामै पहिलो र सुदूरपश्चिम प्रदेशको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ ।
आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता तथा सुशासन लगायतका सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ । सोही मूल्यांकनमा अपिहिमाल गाउँपालिकाले उल्लेखनीय अंक प्राप्त गर्दै जिल्लाको अग्रस्थान र प्रदेशको दोस्रो स्थान सुरक्षित गरेको हो ।
यसै आर्थिक वर्षमा अपिहिमाल गाउँपालिका पर्यटन क्षेत्रतर्फ देशभरकै उत्कृष्ट पालिकाको रूपमा समेत छनोट भएको थियो । प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक सम्भावनाको संरक्षण र प्रवर्द्धनमा गरिएको प्रयासका कारण पालिकाले राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको जनाइएको छ । त्यस्तै अर्गानिक कृषि उत्पादनतर्फ पनि पालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिका घोषित भएको थियो । स्थानीय उत्पादन प्रवर्द्धन, रासायनिक मल तथा विषादीको न्यून प्रयोग, कृषक प्रोत्साहन कार्यक्रम र बजार व्यवस्थापनमा गरिएको सक्रिय पहलले उक्त उपलब्धि हासिल भएको हो ।
स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको समन्वय, विकासप्रति स्पष्ट दृष्टिकोण र जनसहभागितामूलक योजना कार्यान्वयनका कारण अपिहिमाल गाउँपालिकाले छोटो समयमै उल्लेखनीय प्रगति गरेको सरोकारवालाहरूले बताएका छन् । समग्रमा, सुशासन, पर्यटन प्रवर्द्धन र अर्गानिक कृषि उत्पादनमा हासिल गरिएका उपलब्धिले अपिहिमाल गाउँपालिकालाई जिल्लासँगै प्रदेशस्तरमै उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गरेको छ ।