बझाङ : बझाङको साइपाल गाउँपालिकाले प्राविधिक शिक्षा तर्फ स्नातक तहमा इन्जिनियरिङ अध्ययनका लागि एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भन्दै मंसिर २५ गते सूचना प्रकाशित गर्यो । सूचनामा १५ दिनभित्र आवेदन पेश गर्न भनिएको थियो । तर सूचना जारी भएको तिन महिना बितिसक्दा पनि विद्यार्थी छनोट प्रक्रिया अघि बढ्न नसकेको पाइएको छ ।
सूचना अनुसार आवश्यक कागजातसहित आवेदन दिने विद्यार्थीहरू समयमै गाउँपालिकामा पुगेका थिए । तर हालसम्म न त छनोट मापदण्ड सार्वजनिक गरिएको छ, न त छनोट समितिको निर्णयबारे कुनै जानकारी दिइएको छ । यसले गाउँपालिकाको निर्णय कार्यान्वयनमा गम्भीर लापरवाही देखिएको स्थानीयहरूको आरोप छ ।
छात्रवृत्तिको आशामा बसेका विद्यार्थीहरू अन्य कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया समेत प्रभावित भएको बताउँछन् । “१५ दिनभित्र आवेदन दिन भनियो, तर त्यसपछि महिनौँसम्म कुनै खबर छैन,” एक आवेदक विद्यार्थीले भने, “यसले हाम्रो शैक्षिक भविष्य नै अन्योलमा पारेको छ ।”
स्थानीय नागरिकहरूका अनुसार दुर्गम साइपाल गाउँपालिका जस्ता क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले घोषणा गरिएको कार्यक्रम समयमै कार्यान्वयन नहुनु दुःखद र गैरजिम्मेवारपूर्ण हो । सार्वजनिक सूचना जारी गरेर पनि प्रक्रिया अगाडि नबढाउनु प्रशासनिक कमजोरी मात्र नभएर विद्यार्थीमाथि अन्याय भएको उनीहरूको भनाइ छ ।
यस विषयमा गाउँपालिकाको शिक्षा शाखा प्रमुख खडक बुढाले छनोट प्रक्रियामा ढिलासुस्ती भएको स्विकार्दै अबको एक हप्ता भित्र विद्यार्थी छनोट गर्ने बताएका छन् । स्थानीयले तत्काल छनोट प्रक्रिया पारदर्शी रूपमा टुंग्याउन, ढिलाइ हुनुको कारण सार्वजनिक गर्न र भविष्यमा यस्ता कार्यक्रम घोषणामै सीमित नराख्न माग गरेका छन् ।
सूचना निकालेर दायित्वबाट पन्छिन खोज्ने प्रवृत्तिले स्थानीय सरकारप्रति जनविश्वास कमजोर बनाउने भन्दै नागरिक समाजले साइपाल गाउँपालिकालाई जवाफदेही बन्न चेतावनी दिएको छ ।
