बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले होली पर्व तथा निर्वाचनको समयलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबैलाई संयमित र जिम्मेवार रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा फागुन २१ गते पर्ने फागुपूर्णिमा (होली) पर्व निर्वाचन तथा मौन अवधिसँग समेत जोडिएकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिताको पालना गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ ।
सूचनामा राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सम्पूर्ण जिल्लावासीलाई आपसी समझदारी, शान्ति र सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन अपिल गरिएको छ । होली पर्व धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व भएकाले मर्यादित, सभ्य र अनुशासित रूपमा मनाउन भनिएको छ ।
प्रशासनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, मेला, जुलुस तथा भिडभाड हुने कुनै पनि कार्यक्रम आयोजना गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने जनाएको छ । साथै, पर्व मनाउने नाममा जबर्जस्ती रंग दल्ने, अभद्र व्यवहार गर्ने, मदिरा तथा नशालु पदार्थ सेवन गर्ने, सार्वजनिक स्थानमा हो हल्ला गर्ने, सवारी साधन चलाउँदा जोखिमपूर्ण गतिविधि गर्ने जस्ता कार्य नगर्न चेतावनी दिइएको छ ।
५ जनाभन्दा बढी भेला भएर होली नमनाउन, लोला हान्ने, फोहर छ्याप्ने तथा कानून विपरीतका गतिविधिमा संलग्न नहुन पनि सूचनामा उल्लेख छ । निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति दुर्व्यवहार नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।
कानून विपरीत कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयले सबैको सहकार्यमा शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरेको छ ।
