बझाङ : बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल नेतृत्वको अनुगमन टोलीले गाउँपालिकामा सञ्चालन भइरहेका विकास योजनाहरूको अनुगमनलाई तीव्र पारेको छ ।

आर्थिक वर्ष २०८२/८३ अन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका साना तथा ठूला योजनाहरूको पछिल्ला केही दिनदेखि निरन्तर अनुगमन गरिएको हो । सो क्रममा वडा नम्बर १, ३ र ४ मा निर्माणाधीन भौतिक संरचना, ग्रामीण शाखा सडक, विद्यालयको खेलमैदान, विद्यालय भान्सा घर, ग्रामीण बाटोघाटो लगायत विभिन्न विकास योजनाहरूको स्थलगत निरीक्षण गरिएको छ ।

अनुगमनका क्रममा अधिकांश योजनाहरू निर्धारित प्रक्रिया अनुसार अघि बढिरहेको तथा विकास निर्माणका कामहरू क्रमशः तीव्र गतिमा सञ्चालन भइरहेको पाइएको उपाध्यक्ष मल्लले बताइन् । स्थानीय आवश्यकताका आधारमा सञ्चालन भइरहेका यस्ता योजनाहरूले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको उनले उल्लेख गरिन् ।

अनुगमन टोलीले उपभोक्ता समितिलाई कामको गुणस्तर कायम राख्दै योजनाहरू दीगो, पारदर्शी र प्रभावकारी ढंगले सम्पन्न गर्न आग्रह गरेको छ । साथै निर्धारित समयमा काम सम्पन्न गरी स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वातावरण बनाउन पनि सुझाव दिइएको उपाध्यक्ष मल्लले जानकारी दिइन् ।

अनुगमन टोलीमा गाउँपालिकाका प्राविधिक कर्मचारी तथा सम्बन्धित वडा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । टोलीले निर्माणाधीन योजनाहरूको गुणस्तर, प्रगति र पारदर्शिताबारे स्थलगत निरीक्षण गर्दै आवश्यक निर्देशन तथा सुझाव दिएको जनाएको छ ।
