लेखापाल निलम्बनपछि बित्थडचिरमा आर्थिक कामकाज ठप्प

बझाङ : बित्थडचिर गाउँपालिकाका लेखापाल रामचन्द्र धामी निलम्बनमा परेपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेसँगै कानुनी प्रावधानअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् ।

आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै सडक निर्माणमा अनियमितता गरेको आरोप लगाएको छ । आयोगका अनुसार बागथला–धारी डोबा सडक निर्माण योजना अन्तर्गत ग्याबिन तथा मेसिनरी कार्य नगरी पनि सम्पन्न भएको देखाएर भुक्तानी लिइएको उजुरीपछि गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएको हो । मुद्दामा लेखापाल धामीसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी तथा भुमिराज कन्स्ट्रक्सनका सञ्चालक मानबहादुर बोहरालाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार निर्माण कार्य सम्झौता अनुसार सम्पन्न नभएको अवस्थामा पनि झुट्टा बिल तथा प्रतिवेदन तयार गरी भुक्तानी लिएको पाइएको छ । नापी किताबमा ३ सय ३८ मिटर सिँचाइ क्यानल उल्लेख भए पनि स्थलमा २ सय ४८ मिटर मात्र निर्माण भएको तथा ह्युम पाइप कल्भर्टसहितका मेशनरी कार्यसमेत नगरेको तथ्य खुलेको उनले बताए । यसरी वास्तविकभन्दा बढी काम भएको देखाएर ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा बराबर सरकारी रकम हिनामिना गरिएको आयोगको दाबी छ । सोही रकम बराबर बिगो मागदाबी गर्दै आयोगले सबै प्रतिवादीविरुद्ध मुद्दा अघि बढाएको जनाएको छ ।

भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर भएपछि सार्वजनिक पदमा कार्यरत कर्मचारी स्वतः निलम्बनमा पर्ने व्यवस्था रहेको छ । यस प्रावधानअनुसार लेखापाल धामी हाल पदबाट निलम्बित अवस्थामा छन् । निलम्बन अवधिमा उनी कार्यालयको नियमित जिम्मेवारीमा संलग्न हुन पाउँदैनन्, जसका कारण गाउँपालिकाको राजस्व संकलन, भुक्तानी प्रक्रिया र अन्य आर्थिक कारोबार प्रभावित भएको छ । स्थानीय तहका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा अन्तिम फैसला नआएसम्म उनीहरू निलम्बित रहने व्यवस्था छ । अदालतबाट दोषी ठहर भएमा सजाय र बिगो असुल हुने तथा निर्दोष ठहरिएमा सेवामा पुनर्बहाली हुने कानुनी व्यवस्था रहेको छ । लेखापाल निलम्बनमा परेपछि गाउँपालिकामा वैकल्पिक व्यवस्था नगर्दासम्म आर्थिक कामकाज सुचारु हुन कठिन देखिएको स्थानीय स्रोतले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर धामीले लेखापाल निलम्बनमा परेसँगै आर्थिक कारोबारसम्बन्धी काम प्रभावित भएको बताए । उनका अनुसार हाल भुक्तानीलगायतका कार्य रोकिएको छ । लेखापालको वैकल्पिक व्यवस्थाको लागि कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङसँग कर्मचारी माग गरिएको र छिट्टै व्यवस्था हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

Loading...