बझाङ : नयाँ वर्ष २०८३ सालको अवसर पारेर बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीमा जिल्ला स्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । जनचेतना युवा समाज जाफ्री बझाङको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ साल वैशाख १ गतेदेखि ५ गतेसम्म जाफ्रीस्थित गैरी क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।
जिल्लाभरका क्रिकेटप्रेमी तथा खेलाडीहरूले आ–आफ्नो टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने टिमलाई ४१ हजार ८ सय ८३ रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई ११ हजार ८ सय ८३ रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि ४ हजार १ सय ८३ रुपैयाँ दर्ता शुल्क तोकिएको छ । टिम दर्ताको अन्तिम मिति चैत ३० गते बिहान १० बजेसम्म निर्धारण गरिएको छ । यस्तै प्रतियोगितामा म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई विशेष पुरस्कारसहित सम्मान गरिनेछ । साथै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषणा गरी प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।
