ऐन महरको आग्रह : कालङ्गा हाइड्रोको विद्युत बझाङमै वितरण गरियोस्

बझाङ : जिल्लाका धेरै बस्तीहरू अझै पनि विद्युतीय सेवाबाट बञ्चित छन् भने विद्युतीकरण भएका क्षेत्रमा पनि सामान्य हावाहुरी र हिमपात हुँदा विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध हुने समस्या देखिएको छ ।

प्रतिनिधि सभा सदस्य ऐन महरले भने, “बझाङ जिल्लामा अवस्थित कालङ्गा हाइड्रो पावर, जसले ७० मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्छ, त्यसबाट उत्पादित विद्युत बझाङ जिल्लाभित्रै अनिवार्य रूपमा वितरण गर्नुपर्ने आवश्यकता छ। यसका लागि आवश्यक बजेटसहितका कार्यक्रम तत्काल अगाडि बढाइदिन अनुरोध गर्दछु ।”

आज बझाङ जिल्लाको बुङलमा कालङ्गा हाइड्रोबाट उत्पादित विद्युत स्थानीय आवश्यकतानुसार वितरण गर्ने विषयमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यसँग ऐन महरले छलफल गरेका छन् । बैठकमा विद्युत प्राधिकरणले बझाङमा विद्युत आपूर्ति सुनिश्चित गर्न सकारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । ऐन महरले भने, “आशा छ, बझाङ छिट्टै उज्यालो हुनेछ । स्थानीय बासिन्दालाई व्यवस्थित र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न हामी लागिपर्नेछौँ ।” विद्युत प्राधिकरणको तयारीपछि बझाङ जिल्लामा विद्युतीकरण अभियान तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

Loading...