बझाङ जिल्ला अस्पतालले नयाँ नेतृत्व पायो, सेवा सुधारमा अपेक्षा

बझाङ : जिल्ला अस्पताल सिमखेतले एक वर्षपछि नेतृत्व पाएको छ। नवनियुक्त अध्यक्ष विरेन्द्र बहादुर खड्काले सोमबार पदभार ग्रहण गरेका छन् । लामो समयसम्म अध्यक्षविहीन रहेको अस्पतालमा नयाँ नेतृत्व आएसँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासनतर्फ अपेक्षा बढेको छ।

जयपृथ्वी नगरपालिका–३ का स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा पाठ्यक्रम र मूल्यांकन विषयमा एमएड उत्तीर्ण गरेका छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुको विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । विद्यार्थी आन्दोलनकै क्रममा उनले कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवको भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन् ।

खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गर्दै गाउँपालिकास्तरमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेका छन्। सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा जवाफदेहिता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूमा समेत उनको संलग्नता रहँदै आएको छ। जिल्ला अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा उनी सक्रिय मानिन्छन्।

पदभार ग्रहणपछि खड्काले अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण र जनविश्वास अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताए । उनले भने, ´अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने दिशामा सबै सरोकारवालासँग सहकार्य गर्नेछु ।`

पदभार ग्रहणकाे क्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्दिप ओखेडाले नवनियुक्त अध्यक्ष खड्कालाई कार्यपत्र हस्तान्तरण गरेका थिए । अस्पतालको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार विकाससम्बन्धी योजनाहरू पनि सो अवसरमा प्रस्तुत गरेका थिए ।

अस्पतालमा हाल १५ शैय्याको स्वीकृत दरबन्दी भए पनि ६१ शैय्या सञ्चालनमा छ । अस्पतालकाे स्तरउन्नति, आईसीयू सेवा सञ्चालन, नवजात शिशु सघन उपचार कक्ष स्थापना, सिटी स्क्यान मेसिन जडान, मातृशिशु भवन निर्माण तथा वैकल्पिक ऊर्जा व्यवस्थापनजस्ता योजनालाई प्राथमिकतामा राख्न अस्पताल प्रशासनले आग्रह गरेकाे छ ।

Loading...