काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना लगायत विभिन्न शीर्षकमा गैरकानुनी रूपमा शुल्क असुल गरिएको गुनासो प्राप्त भएपछि स्थानीय तहलाई अनुगमन तथा नियमन गर्न निर्देशन दिएको छ ।
केन्द्रले जारी गरेको पत्रमा विद्यालयहरूले कानुन विपरीत शुल्क लिएको सम्बन्धमा विभिन्न जिल्लाबाट गुनासो आएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी सत्यतथ्य बुझ्न र प्रचलित कानुनको परिधिभित्र रही समस्या समाधान गर्न आग्रह गरिएको छ ।
विद्यालय शुल्कका विषयमा अभिभावक तथा नागरिकबाट गुनासो बढ्दै गएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्काल आवश्यक कदम चाल्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
