जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न पोखरामा ‘माछापुच्छ्रे संवाद’

हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गर्न पोखरामा ‘अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे संवाद’ मंगलबारदेखि सुरु भएको छ । सेभ आवर हिमालय फस्र्ट नेपालको पहलमा गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न प्राकृतिक विपत्तिबाट पीडित बनेकाहरूलाई उचित सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले जलवायु परिवर्तनको असर कम गर्न सबैको हातेमालो, सहकार्य र सक्रियता आवश्यक रहेको बताएका थिए ।

​सेभ आवर हिमालय फस्र्ट नेपालका अध्यक्ष एवं कार्यक्रमका संयोजक डि.बी. नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख डा. नारायण प्रसाद गौतम, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ र नागरिक समाज संस्था कास्कीका राम प्रसाद सुवेदीले आ–आफ्नो धारणा राखेका थिए ।

​सम्मेलनमा जलवायु परिवर्तनले मौसम, पर्यावरण र जीवनयापनमा पारेको प्रभाव सम्बन्धि तीन दर्जन अनुसन्धान पत्र र कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । युनिभर्सिटी अफ कलगेरी क्यानडाका प्रोफेसर डा. माइरिल बलार्ड, डा. रंजन दत्ता र जेबुनीसा च्यापोला सहित डा. बसन्तराज अधिकारी, खगेन्द्रराज पौडेल, पूर्णेश्वर सुवेदी, सह–प्राध्यापक दिपेन्द्रराज पहारी, नेपाल वाटर कन्जरभेसन फाउण्डेसनका नमिन्द्र दाहाल, एक्यापका डा. राजन पौडेल, डा. रिपु कुवँर, श्रीकान्त खतिवडा, अनुपम उप्रेती र प्रेम दवाडीले आ–आफ्नो अनुसन्धान तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

​कार्यक्रमको सहजीकरण डा. राजन पौडेल, डा. कृष्णचन्द्र देवकोटा, डा. रबिन कडरिया, सेभ आवर हिमालयका बुद्धिबहादुर मिजार र पेमा शेर्पाले गरेका थिए । बुधबार माछापुच्छ्रेको खारापानी अवलोकन सहित घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने आयोजकले जनाएका थिए ।

Loading...