धम्पुसमा सामाजिक भावनात्मक शिक्षा कार्यक्रमको २८औं ब्याच दीक्षान्त, ५२ विद्यार्थी दीक्षित

कास्की, २०८३ भदौ ५ गते शुक्रबार — माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित श्री उदय माध्यमिक विद्यालय र श्री पृथ्वीनारायण माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सामाजिक भावनात्मक शिक्षा कार्यक्रम (Social Emotional Education Program – SEEP) को २८औं ब्याच दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा दुवै विद्यालयका गरी जम्मा ५२ जना विद्यार्थी दीक्षित भएका छन् । रङ्गीचङ्गी बेलुन, झण्डी र विद्यार्थीहरूले आफैंले तयार पारेका सामाजिक–भावनात्मक सिकाइका चार्टहरूले सजिएको विद्यालय प्रांगणमा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
समारोहको प्रमुख अतिथिमा सीता देवी अधिकारी रहनुभएको थियो । कार्यक्रमको विशेष अतिथिमा हर्बर्ट ग्लेसियर र विशिष्ट अतिथिमा वडाध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी रहनुभएको थियो । त्यसैगरी अतिथिको रूपमा विष्णु प्रसाद भण्डारी को उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुवै विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष, स्थानीय समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै दुवै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको समेत उपस्थिति थियो ।

कार्यक्रमको सुरुवाती सञ्चालन सीप (SEEP) का सदस्य विद्यार्थी सोबित भण्डारी र चमिना कुमाई ले गरेका थिए । विद्यार्थी आफैंले कार्यक्रम सञ्चालन गर्ने अभ्यासलाई उपस्थित अतिथिहरूले नेतृत्व विकासको जीवन्त उदाहरणका रूपमा प्रशंसा गरेका थिए ।

सीप कार्यक्रमका संयोजक शिक्षक अमृत भण्डारी ले कार्यक्रम सञ्चालनका लागि The School of Nonviolence Nepal र पोखराको Lions Club ले आर्थिक सहयोग गरेको जानकारी दिए । कार्यक्रम सहजीकरण द स्कुल अफ ननभायोलेन्स नेपाल, पोखरा–८ ले गरेको थियो भने सहकार्यमा लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदर, धम्पुस वडा कार्यालय तथा उदय र पृथ्वीनारायण माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको भूमिका रहेको थियो ।

उदय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षेत्री ले सीप कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भने— सामाजिक भावनात्मक शिक्षाले विद्यार्थीलाई सीपयुक्त र दक्ष नागरिक बन्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । उनका अनुसार पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीमा आत्मबोध, सहानुभूति र सम्बन्ध निर्माणको क्षमता विकास गर्नु आजको आवश्यकता हो ।
सीप कार्यक्रमले नेतृत्व विकास, भावनात्मक बुद्धिमत्ता र अहिंसात्मक सञ्चार लाई मुख्य स्तम्भ बनाएर विद्यार्थीहरूलाई तालिम दिँदै आएको छ ।

कार्यक्रममा पृथ्वीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छात्र सुनिल दत्त भट्ट ले सेल्फ एफर्मेसन कार्ड (Self Affirmation Card) का बारेमा आफ्नो धारणा राखेका थिए । उनले यस अभ्यासले आफूभित्रको आत्मविश्वास बढाउन र नकारात्मक सोचलाई सकारात्मक दिशामा मोड्न सघाएको अनुभव सुनाए ।

दुवै विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई रमाइलो र जीवन्त बनाएका थिए । स्थानीय लोक संस्कृतिझल्किने प्रस्तुतिहरूले उपस्थित अभिभावक तथा समुदायका सदस्यहरूको मन जितेको थियो ।

दीक्षान्त समारोहको अन्त्यमा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रममा योगदान पुर्‍याउने अतिथि तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई माल्यार्पण र उपहार प्रदान गरी सम्मान गरिएको थियो । लगातार २८औं ब्याचसम्म निरन्तरता पाएको यस कार्यक्रमले धम्पुस क्षेत्रका विद्यालयहरूमा सामाजिक भावनात्मक सिकाइलाई संस्थागत गर्दै लगेको आयोजकहरूको भनाइ छ ।

Loading...