बझाङमा पेट्रोल–डिजेलको अवैध कारोबार मौलाउँदै, प्रशासनले अब कडाइ गर्ने

बझाङ : जिल्लाका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको अवैध बिक्रीवितरण भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको छ । अति प्रज्वलनशील पेट्रोल र डिजेल जथाभावी बिक्री हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै उपभोक्ताको सुरक्षा र बजार मूल्यमा समेत असर परेको भन्दै तत्काल अनुगमन र कारबाहीको माग गरिएको हो ।

सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका सदस्य चक्रबहादुर बोहराले जिल्ला प्रशासन कार्यालय बझाङलाई बुझाएको ध्यानाकर्षणपत्रमा जिल्लाका विभिन्न बजार तथा स्थानमा आधिकारिक डिपोबाहेक अन्य स्थानबाट यालिन, ड्रम तथा अन्य माध्यमबाट पेट्रोलियम पदार्थको अनधिकृत बिक्री वितरण भइरहेको उल्लेख गरेका छन् ।

ध्यानाकर्षणपत्रअनुसार विगतका वर्षहरूमा बझाङका विभिन्न बजारमा इन्धन आपूर्तिका लागि आधिकारिक डिपो सञ्चालनमा नरहेको अवस्थामा व्यापारीहरूले यालिन तथा झुम्पासहितका माध्यमबाट पेट्रोल, डिजेललगायतका इन्धन बिक्रीवितरण गर्दै आएका थिए । हाल नेपाल आयल निगमबाट अनुमति प्राप्त आधिकारिक डिपोहरू सञ्चालनमा आए पनि अनधिकृत बिक्रीवितरण पूर्णरूपमा रोकिएको अवस्था नरहेको दाबी गरिएको छ ।

हाल नेपाल आयल निगम लिमिटेडबाट अनुमति प्राप्त गरी बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा १, केदारस्युँ गाउँपालिकाको बागथलामा १, झोता बजारमा १, दुर्गाथली गाउँपालिकाको मौरीबगरमा १, जयपृथ्वी नगरपालिकाको तमैलमा १ र चैनपुर बजारमा १ गरी जम्मा ६ वटा आधिकारिक डिपो सञ्चालनमा रहेको पत्रमा उल्लेख छ ।

आधिकारिक डिपो सञ्चालनमा आइसकेको अवस्थामा समेत बजार तथा अन्य स्थानमा अनधिकृत रूपमा पेट्रोलियम पदार्थ बिक्री भइरहेको भए त्यसले इन्धनको मूल्य, गुणस्तर तथा उपभोक्ताको सुरक्षामै प्रतिकूल असर पार्न सक्ने भन्दै तत्काल नियन्त्रण गर्न माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङलाई बुझाएको ज्ञापन पत्र

‘डिपो छन्, तर अवैध बिक्री किन रोकिएन ?’
अति प्रज्वलनशील पेट्रोलियम पदार्थ जथाभावी भण्डारण तथा बिक्री गर्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम उच्च हुन्छ । तर बझाङका विभिन्न क्षेत्रमा लामो समयदेखि भइरहेको भनिएको यस्तो कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रश्न उठेको छ ।

एसोसिएसनले जिल्लाका विभिन्न बजार तथा स्थानमा भइरहेको अनधिकृत तथा अनावश्यक इन्धन बिक्री वितरण तत्काल रोक्न, नेपाल आयल निगमबाट अनुमति प्राप्त आधिकारिक डिपोबाट मात्रै इन्धन बिक्री वितरण हुने व्यवस्था मिलाउन प्रशासनसँग माग गरेको छ ।

त्यस्तै, आधिकारिक डिपोबाहेक अन्य स्थानबाट यालिन, ड्रम वा अन्य माध्यमबाट हुने इन्धनको अनधिकृत बिक्री वितरणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन तथा अनुगमनको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

प्रशासनको अनुगमन कहाँ छ ?

पेट्रोलियम पदार्थजस्तो अति प्रज्वलनशील वस्तुको अवैध कारोबार वर्षौंदेखि भइरहेको आरोप उठिरहँदा पनि त्यसको वास्तविक अवस्था के हो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले तत्काल छानबिन गर्नुपर्ने देखिन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले विगतमा जिल्लामा पर्याप्त आधिकारिक डिपो नभएका कारण सेवामूलक पक्षलाई मध्यनजर गर्दै त्यस्ता गतिविधिलाई नियमन गर्न कठिनाइ रहेको बताइन् । “विगतमा धेरै डिपोहरू आधिकारिक थिएनन् । त्यसबेला सेवामूलक पक्षलाई मध्यनजर गरेर नियमन गर्न सकिएन । अहिले धेरै डिपोहरू आधिकारिक रूपमा सञ्चालनमा आइसकेका छन् । अब अनधिकृत रूपमा भइरहेको पेट्रोल, डिजेल बिक्री वितरण बन्द गरिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षणपत्रलाई गम्भीरतापूर्वक लिँदै तत्काल बजार अनुगमन, अवैध बिक्री वितरणको छानबिन र दोषी भेटिए कानुनी कारबाही अघि बढाउने जनाएको छ ।

Loading...