चिसो बढेसँगै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । उता, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले साना विद्यार्थीलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको छिन् । भरतपुर २८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गरेकी छन् ।
बिहीबार नै बझाङको मस्टा गाउँपालिका १ का अध्यक्ष रामचन्द्र रोकाया (आरसीले) बालबालिकालार्ई न्यानो कपडा वितरण गरेका छन् । साथै, वडाभित्रका ४ वटा विद्यालयलाई ई-हाजिरी वितरण गरेका छन् ।
वडाध्यक्ष रोकायाले शिक्षा, स्वास्थ्य तथा जनतासँग जोडिएका अत्यावश्यक काम सञ्चालन गर्न ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम गरेका हुन् । सोही अन्तरगत बिहीबार बेतालकोट भैरव सामुदायिक विद्यालयको बाल कक्षामा अध्ययनरत १२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।
भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन् नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको भरतपुर महानगर प्रमुख रेणु दाहालले बताइन् । यस्तै भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरूले निरन्तरता पाउने प्रमुख दाहालले जानकारी दिइन् ।
बाल कक्षामा अध्ययनरत आर्थिक रूपले विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष रोकायाले जानकारी दिए । जनतासँग वडाध्यक्ष कार्यक्रम अन्तरगत नै वडाभित्रका ४ वटा विद्यालयमा ई हाजिरी वितरण गरिएको छ ।
कक्षा आठ भन्दामाथि सञ्चालन भएका ४ वटा विद्यालयमा इ हाजिरी वितरण गरिएको रोकायाले जानकारी दिए । ‘घचाया मावि, सरस्वती मावि, सुर्मा देवी आवि र माईतिवन आविमा पहिलो चरणको ई-हाजिरी वितरण गरेका छौँ,’ वडाध्यक्ष रोकायाले भने, ‘ ई-हाजिरीमार्फत विद्यालय आउने जाने समयको पूर्ण पालन गराउने प्रयास गरेका छौँ । हामी विद्यालयमा सुशासन कायम गर्न प्रयासरत छौँ । यी लगायत विद्यालय शिक्षा सुधारका अन्य कामहरुपनि सञ्चालन गर्दै छौँ ।’
विद्यालयमा सुशासन कायम नगरे ई-हाजिरी को पूर्ण कार्यान्वयन गर्न समिति गठन गरिएको छ । समितिले वडाभित्रका ११ वटै विद्यालयलाई गुणस्तरीयता कायम गर्न मापदण्ड तयार पार्ने छ । वर्षको अन्त्यमा विद्यालयबिच मापदण्डका आधारमा उत्कृष्ट विद्यालय र प्रधानाध्यापक घोषणा गरिने वडाध्यक्ष रोकायाले जानकारी दिए । तोकिएको मापदण्ड पुरा नगर्ने विद्यालयलार्ई वडाबाट कुनै किसिमको सहयोग नगरिने र सुविधा समेत कटौती गरिने रोकाया बताउँछन् ।
गठित समितिका संयोजक वडा सदस्य कलक थापा रहेका छन् भने सदस्यहरूमा प्रधानाध्यापकहरू, महेन्द्र बहादुर सिंह, दीपेन्द्र बहादुर खड्का, ममता कुमारी शाह र दीपक खड्का रहेका छन् ।