निर्वाचित भएको पहिलो हप्तामै सभामुख भण्डारीविरुद्ध अफवाह फैलाइयो

सुदूरपश्चिमको सभामुख निर्वाचित भएका भीम भण्डारीविरुद्ध कार्यकालको पहिलो सातामै अफवाह फैलाइएको छ । केही सञ्चारमाध्यमले भण्डारीविरुद्ध अफवाह फैलाएका हुन् । ‘कार्पेट पुरानो भएको भन्दै सभामुख भण्डारी क्वाटर छिर्न नमानेको’ शीर्षक दिएर केही स्थानीय पत्रिकाले भ्रमपूर्ण समाचार प्रकाशन गरेका छन् ।

माघ ३ गते सभामुख निर्वाचित भएका भण्डारी सरकारी निवास छिर्ने तयारीमा छन् । ‘सभामुखको सरकारी क्वार्टरमा शौचालय नै प्रयोग गर्न नसकिने अवस्थामा भएकाले मर्मत सम्भारको काम हुँदैछ । पूर्वसभामुख ज्यूले क्वार्टर छोडेपछि मर्मत सम्भारको काम भइरहेको छ । बस्नको लागि आधारभूत कुरा नै छैनन्,’ प्रदेशसभा सचिवालयका एक सदस्यले भने, ‘कार्पेट नफेरेको भनेर बङ्ग्याइएको रहेछ ।’

क्वार्टर तयार नभएकाले सभामुख भण्डारी हाल भाडाकै घरमा बसिरहेका छन् भने उपसभामुख आफै घरमा बसेकी छिन् ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले यसै हप्ता दुवै जनालाई क्वार्टरमा बसाइँ सक्ने तयारी रहेको बताए । सभामुख र उपसभामुख निवासमा सरसफाइ तथा मर्मत सम्भारको काम भइरहेकोले केही समय लाग्ने उनी बताउँछन् । भण्डारी गत ४ मंसिरमा भएको निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए ।

Loading...