आत्मदाह गरेका उद्यमी प्रेमप्रसाद आचार्यको परिवार बचाउन सामाजिक सञ्जालमा चन्दा अभियान सुरु भएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राखी आचार्यले संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।
युनियन एजुकेसनका संचालक रमेशबाबु भट्टराईले प्रेमप्रसाद आचार्यको परिवारलाई ५० हजार सहयोग गरेका छन् । काठमाडौ र दमौलीबाट शिक्षा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संचालन गराइरहेको युनियन एजुकेसनका संचालक भट्टराईले दिबङ्गत आचार्य परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
भट्टराईले दिवङ्गत आचार्यकी श्रीमतीको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेका छन् । आफूलाई ६० लाख बढी ऋण लागेको भन्दै आचार्यले आफ्नी श्रीमती नानुका अधिकारीको नाममा रहेको बैंक खाता र सम्पर्क माेबाइल् नम्बर पनि स्टाटसमा समावेश गरेका थिए । आचार्य परिवारको ऋण चुक्ता गर्नका लागि आफुले सहयोग गरेको भट्टराईले बताए ।
प्रहरीले उनको तत्कालै उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याएको थियो । उपचाररत आचार्यको बुधबार बिहान निधन भएको छ ।
आचार्यले आफ्नो फेसबुक अकाउन्टमा शेयर गरेको स्टाटसले अहिले थप चर्चा पाइरहेको छ । छ हजार बढी शब्दमा लेखिएको उक्त स्टाटसले धेरैलाई भावुक बनाएको छ । उनको आत्मदाहले सामाजिक सञ्जालमै तरङ्ग ल्याइदिएको छ ।
उक्त स्टाटसमा आचार्यले आफूलाई ऋण लागेको, बजारमा उधारो नउठेको, ठूला व्यापारीकाे हेपाहा प्रवृत्तिले आफ्नो व्यवसाय डुबेको उल्लेख गरेका थिए ।
सोही स्टाटसलाई आधार मान्दै अहिले सामाजिक सञ्जालमा चन्दा अभियान सुरु भएकाे छ ।
त्यस्तै विदेशमा रहेका नेपालीहरूले फन्ड रेइजिङ प्लेटफर्म गाे फन्ड मी मार्फत आचार्यकाे परिवारका लागि सहयाेग रकम संकलन अभियान थालेका छन् ।
आत्मदाह प्रयास गर्नुअघि आचार्यले फेसबुक पोस्टमा लेखेका थिए, “कोही मनकारी/सहृदयी जनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गरिदिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन । हाम्रा २ छोरीहरू टुहुरा हुनेछन् ।