नेकपा (माओवादी केन्द्र) विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद समाधान हुन नसकेपछि दुवै समूह विघटन हुने भएका छन् । पार्टी स्थायी कमिटीले दुई समूहमा विस्तार भएको अखिल (क्रान्तिकारी) विघटन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
‘पार्टी स्थायी कमिटीमा पञ्चा सिंह नेतृत्वको अखिल (क्रान्तिकारी) र पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी) विघटन गर्ने निर्णय भएको छ । निर्णय भोलि वा पर्सी सम्म सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो, ‘दुई धारमा विभाजन भएका विद्यार्थी सङ्गठनका कारण आसन्न स्ववियु निर्वाचनमा ठुलो क्षति पुग्ने आकलन गर्दै विघटनको निष्कर्ष निकालिएको हो ।’
नयाँ नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा पुगेको छ । केन्द्रीय समिति उपाध्यक्षसमेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको थियो । कार्की नेतृत्वको असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको घोषणा समेत गरेका छन् ।
यसअघि अखिल क्रान्तिकारीको पदाधिकारी विवाद मिलाउन गठित कार्यदलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पदाधिकारी विवाद सल्टाउने उपाय बारे विकल्प दिइएको थियो ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने सम्मिलित कार्यदलले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएका थिए ।