जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय बझाङका प्रमुख नवराज जोशीले योजनाको सम्झौता गर्न आनाकानी गरेका छन् । जयपृथ्वी नगरपालिका वडानं ५ कोटेलीमा परेको सिचाई कुलोको योजना सम्झौता गर्न प्रमुख जोशीले आलटाल गर्दै आएका छन् ।
आर्थिक वर्ष समापन हुन तीन महिना मात्रै बाँकी रहँदा पनि जोशीले सिँचाई कुलोको सम्झौता प्रक्रिया अगाडि बढाएका छैनन् । समयमै योजना सम्झौता हुन नसक्दा ३० लाख बजेट फ्रिज जाने भन्दै स्थानीय चिन्तित छन् । तर यता कार्यालय प्रमुख जोशी भने योजना सम्झौता गरेर काम अगाडि बढाउने मनसायमा छैनन् ।
करिब १ महिनादेखि योजना सम्झौताका लागि कार्यालय प्रमुख जोशीलाई बारम्बार निवेदन पेस गरिएको उपभोक्ता समिती अध्यक्ष सुरेन्द्र सिंहले बताए । विभिन्न बहानामा कार्यालय प्रमुख जोशीले योजनाको सम्झौता रोकेर राखेको सिंहको गुनासो छ । ‘हामीले करिब १ महिनादेखि बारम्बार निवेदन पेस गर्याैँ । तर निवेदनमाथि कुनै कारबाही भएको छैन । समयमै योजना सम्झौता नभए बजेट फ्रिज जान्छ भन्ने चिन्ता पनि छ’ सिंहले भने ।
‘सुरुमा उपभोक्ता समिति गठन गर्दा स्थानीयहरूबिच विवाद भएको भए पनि हाल कुनै विवाद छैन’ सिंहले भने, ‘पहिलो पटक उपभोक्ता समिति गठनमा विवाद छ भनेर फर्काइयो । हामीले विवादित व्यक्तिहरूबिच सहमति जुटाएर पुनः निवेदन दियौँ । तैपनि योजना कार्यालय प्रमुखले सम्झौता गर्न मानेन ।’
कार्यालय प्रमुख जोशी आफूले बजेट पारेको भन्दै हाबी हुन खोजेको एक स्थानीय बताउँछन् । ‘योजना सम्झौता नगरेर घुमाउरो बाटोबाट कमिसन मागेका पो हुन् की’ भन्दै ती व्यक्तिले आशङ्का व्यक्त गरे ।
यता कार्यालय प्रमुख जोशीले योजनाको उपभोक्ता समिति गठन गर्दा स्थानीयबिच सहमति नभकोले काम अगाडि बढाउन नसकिएको जिकिर गरे । सोही विषयको बारेमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा उजुरी परेकोले दबाब आएको जोशी बताउँछन् ।
तर, नेकपा बझाङका सेक्रेटरी प्रविन सिले भने उजुरी परे पनि योजनाको सम्झौता अगाडि बढाउन निर्देशन दिएको बताए ।