प्रजिअ भन्दामाथि सिँचाई कार्यालयका कर्मचारी: निर्देशनको अवज्ञा गर्दै रातारात काम 

जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय बझाङका अधिकांश विकासे योजना विभिन्न कारणले विवादास्पद हुने गरेका छन् । विकासे योजना विवादास्पद हुँदै गर्दा कार्यालयका कर्मचारीको सक्षमतामाथि सरोकारवालाहरूले प्रश्न उठाउँदै आएका छन् । कार्यालयको कार्य सम्पादनमाथि राजनीतिक दल तथा जानकारहरूले पछिल्लो समय विमति राख्दै आएका छन् । सिँचाइ कार्यालयको असक्षम कार्यशैली पुष्टि गर्ने पछिल्ला दुई उदाहरण हुन् छबिस पाथीभेरा गाउँपालिका– ५ थलाराको घट्टे खोला पहिरो नियन्त्रण तथा तटबन्ध योजना र जय पृथ्वी नगरपालिका ५ कोटेलीमा परेको सिचाई कुलोको योजना ।
थलाराको घट्टे खोला पहिरो नियन्त्रण तथा तटबन्ध योजना उपभोक्ता समितिको सचिवमा बहालवाला कर्मचारी उपभोक्ता समितिमा रहेको ठहर भएपछि एक महिनादेखि काम बन्द भएको थियो । वडाका स्वास्थ्य इन्चार्ज सुमन धामी नै उक्त योजनाको उपभोक्ता समिति सचिव रहेको भेटिएपछि समाचार प्रकाशन भएका थिए । बहालवाला कर्मचारी उपभोक्ता समितिमा बस्नु नियमविपरित हो । तर, अहिले सोही समितिले योजनाको काम सुचारु गरिरहेको छ । उपभोक्ता समिति सचिव रहेका धामीलाई उक्त पदबाट हटाइएको भनिए पनि त्यसको कुनै सार्वजनिक सुनुवाइ भएको छैन ।
उपभोक्ता समितिमा बसेका कर्मचारी धामीमाथि छानबिन गरी सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले छबिस पाथीभेरा गाउँपालिकालाई निर्देशन दिएको बताएका थिए । तर गाउँपालिकाले भने उक्त निर्देशनको बारेमा सार्वजनिक सुनुवाइ गरेको छैन । यता तालुक निकाय जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख नवराज जोशीले समेत उक्त निर्देशनको अटेरी गरेका छन् ।
तटबन्धको काम सोही समितिले अहिले धमाधम गरिरहेको छ । ‘सिँचाइकै कर्मचारीले हामी यताको सबै कुरा मिलाउँछौँ । ढुक्क भएर काम अगाडि बढाउनुस्’ भनेपछि सोही समितिले काम गर्न सुरु गरेको एक स्थानीयले बताए । ‘कर्मचारी सुमन धामीकै सिफारिसमा बैङ्क खाता सञ्चालन भएको छ । सिँचाइका कर्मचारीको ढाडस पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनकाे औचित्य समाप्त भएको देखियो । प्रजिअ भन्दा सिँचाइका कर्मचारीमाथि रहेछन् भन्ने महसुस भएको छ ।’ स्थानीय समाजसेवी सोभान धामीले गुनासो गरे ।
उक्त योजनाको काम पुनः सुरु गर्न निर्देशन दिएको बारे सिँचाइ प्रमुख नवराज जोशीले अस्वीकार गरेर पन्छिन खोजे । ‘मलाई योजनाको काम रोकिएको छ भन्ने बारे बारे मात्रै थाहा छ । कर्मचारी समितिमा बसेको छ भन्ने थाहा पाएपछि काम रोक्न लाएको हुँ । योजना गठन प्रक्रिया पुर्याएर काम सञ्चालन गरेको भन्ने  कुरा सुन्नमा आए पनि कार्यालयमा प्रक्रियाको कागजात पुगेको छैन ।’
योजनामा कमिसनको गन्ध
थलाराको घट्टे खोला पहिरो नियन्त्रण तथा तटबन्ध योजना तर्जुमा प्रक्रियाभन्दा बाहिरबाट ल्याइएको जानकारहरू बताउँछन् । प्रदेशस्थित कार्यालयबाट उक्त योजना अग्रिम कमिसन दिएर ल्याइएको एक स्थानीयकाे दाबी छ । कर्मचारी सुमन धामीले आफूले पाँच लाख अग्रिम भुक्तानी दिएर उक्त योजना पारेको खुलेआम भन्ने गरेको ती व्यक्तिले सुनाए । आफूले रकम खर्च गरेर योजना ल्याएको हुँदा उपभोक्ता समितिमा आफै बस्न पाउनुपर्ने उनको सुरुवाती अडान रहेको ती व्यक्ति बताउँछन् । उपभोक्ता समिति गठन गर्दा सुमन धामीकै परिवारका सदस्य र निकट व्यक्ति मात्रै सदस्यमा राखिएको उनको दाबी छ । यता छविसपाथिभेरा गाउँपालिकाले उक्त योजना आफ्नो स्थानीय तहको मागभन्दा बाहिरबाट आएको स्वीकार गरेको छ । गाउँपालिकाका सूचना अधिकारी भन्छन्, ‘उक्त योजना प्रदेशबाट आएको हो । गाउँपालिकाबाट सिफारिस भएको होइन । कसरी आयो, कसले ल्यायो भन्नेबारेमा थाहा भएन ।’
कतै रातारात काम, कतै सम्झौता गर्नै आनाकानी 
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय बझाङका प्रमुख नवराज जोशीले योजनाको सम्झौता गर्न आनाकानी गरेका छन् । जय पृथ्वी नगरपालिका वडानं ५ कोटेलीमा परेको सिचाई कुलोको योजना सम्झौता गर्न प्रमुख जोशीले आलटाल गर्दै आएका छन् ।
आर्थिक वर्ष समापन हुन तीन महिना मात्रै बाँकी रहँदा पनि जोशीले सिँचाई कुलोको सम्झौता प्रक्रिया अगाडि बढाएका छैनन् । समयमै योजना सम्झौता हुन नसक्दा ३० लाख बजेट फ्रिज जाने भन्दै स्थानीय चिन्तित छन् । तर यता कार्यालय प्रमुख जोशी भने योजना सम्झौता गरेर काम अगाडि बढाउने मनसायमा छैनन् ।
करिब १ महिनादेखि योजना सम्झौताका लागि कार्यालय प्रमुख जोशीलाई बारम्बार निवेदन पेस गरिएको उपभोक्ता समिति अध्यक्ष सुरेन्द्र सिंहले बताए । विभिन्न बहानामा कार्यालय प्रमुख जोशीले योजनाको सम्झौता रोकेर राखेको सिंहको गुनासो छ । ‘हामीले करिब १ महिनादेखि बारम्बार निवेदन पेस गर्‍यौँ । तर निवेदनमाथि कुनै कारबाही भएको छैन । समयमै योजना सम्झौता नभए बजेट फ्रिज जान्छ भन्ने चिन्ता पनि छ’ सिंहले भने ।
Loading...