सदरमुकाम चैनपुरमा ठुला सवारी साधन चलाउन नपाइने
निश्चित समय तोकेर मात्रै प्रवेश गर्नदिने नगर प्रमुख बजालको भनाइ
बझाङ : जय पृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले सदरमुकाममा ठुला सवारीसाधनमा प्रवेशमा नियमन गरेका छन् । ठुला सवारी साधन ताेकिएकाे समयमा मात्रै प्रवेश गर्न पाउने बताएका छन् । नेपाल एंगलसँग कुरा गर्दै मेयर बजालले चैनपुर बजार क्षेत्रभित्र मालबाहक ट्रक तथा ठुला सवारीसाधनलाई निश्चित समय तोकेर प्रवेश गर्न दिने बताएका हुन् ।
सबैसँग छलफल तथा समन्वय गरेर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारीसाधन बजारमा सञ्चालन गर्ने उनले बताए । बजारमा ठुला सवारीसाधनको आगमनले नागरिकलाइ समस्या भएको गुनासो आएपछि नेपाल एगंलले केहि दिन अघि यो विषय उठान गरेको थियो ।
मेयर बजालले भने, ‘बजारमा साँच्चिकै ठुलो गाडीको चाप बढेको छ । बजार सानो छ । यसले गर्दा विद्यार्थी बालबालिका लगायत विभिन्न ठाउँबाट सदरमुकाम आएका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । हामीले तत्काल छलफल गर्ने छौँ ।’
साथै, समयमै सही कुराको जानकारी गराएको भन्दै उनले नेपाल एंगललाई धन्यवाद समेत व्यक्त गरे ।
सवारी धनीहरूले बजारमा जथाभाबी गाडी पार्किङ गर्ने गरेका छन् । यस कारण साना सवारी अटो, मोटरसाइकल तथा नागरिकलाई आवागमनमा निकै समस्या हुने गरेको छ । जोखिम पनि उत्तिकै बढेको छ ।