कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिन हुनुपर्छ: संयोजक खड्का

बझाङ: भ्रष्ट्राचार विरुद्ध अभियान बझाङको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक नगेन्द्र खड्काले कुनै पनि कालखण्डमा भएका भ्रष्ट्राचार र भ्रष्ट्राचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनले यो देश हाम्रो पनि हो भन्दै केही वर्ष यताको मात्र भ्रष्ट्राचार होइन नेपाल स्थापना कालखण्डदेखिको भ्रष्ट्राचार र भ्रष्ट्राचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘यो देशको अवस्था दयनीय छ । यो देशका निजामती कर्मचारी, नागरिकलाई शान्ति सुरक्षा दिने सेना प्रहरीले पारिश्रमिक खान पाएका छैनन् । तर यी भ्रष्टाचारीहरूले भने अथाह सम्पत्ति कमाएर बोराका हिसाबमा कहिले बालुवाटार पुर्‍याइरहेका छन्, कहिले सिंहदरबार पुर्‍याइरहेका छन् ।’

साथै उनले लुकाएर राखेको त्यो पैसा बाहिर निस्किनुपर्ने पनि बताए । ‘जबसम्म त्यो पैसा बजारमा आउँदैन तबसम्म देशको अवस्था झनझन दयनीय हुँदै छ । यो देश तपाई हाम्रो पनि हो, उनीहरूको मात्रै होइन’ उनले थपे, ‘बैङ्क रित्तिइँदै छन् । भ्रष्ट्राचारीले कुम्ल्याएको पैसा सबै विदेश पलाएन भैइसकका छन् । ’

नेपाली जनताले यो अभियानलाई तीव्र पार्नुपर्ने उनले बताए । विभिन्न गाउँघरमा भएका भ्रष्ट्राचारलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई जानकारी गराउन समेत अनुरोध गरेका छन् । भ्रष्टाचार विरुद्धको अभियान हाल देशभर चलिरहेको छ ।

Loading...