बझाङमा हिमपात नहुँदा अन्नबाली सुक्दै , किसान चिन्तित

बझाङ:  सुदूरपश्चिमको उच्च हिमाली जिल्ला बझाङमा यस वर्ष पुस महिनाको अन्तिमसम्म पनि अपेक्षित हिमपात नहुँदा हिउँदे अन्नबाली संकटमा परेको छ । सामान्यतया मंसिर–पुसमा पर्ने हिमपातले गहुँ , जौं र उवाजस्ता बालीलाई आवश्यक चिस्यान र पोषण दिने गरे पनि यसपालि मौसम प्रतिकूल हुँदा बाली पहेंलो हुँदै सुक्न थालेका छन् ।

जिल्लाका छान्ना , खप्तडछान्ना , मष्टा , तलकोट , छविसपाथिभेरा र साइपाल गाउँपालिकाका उच्च भेगमा हिउँ नपर्दा खेतबारी सुख्खा बनेका छन् । किसानहरूका अनुसार यस समयमा परेको हिमपातले माटोमा चिस्यान कायम राख्ने र बालीको वृद्धि राम्रो हुने अपेक्षा गरिन्छ । तर लामो समयदेखि वर्षा र हिमपात दुवै नपर्दा गहुँ , जौं र उवाको बिरुवा बढ्न नपाई कमजोर बन्दै गएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाका किसान प्रेम बहादुर बोहराका अनुसार “हरेक वर्ष पुस लाग्दासाथ हिमपात हुन्थ्यो । त्यसकै भरमा हामीले गहुँ र जौं लगाउने गरेका हौँ । तर यस वर्ष न हिउँ पर्यो , न पानी । बाली पहेंलो हुँदै गएको देख्दा निकै चिन्ता लागेको छ ।”

यस्तै , मष्टा गाउँपालिकाकी किसान धनकली रोकायाले पनि बाली सुक्न थालेपछि उत्पादन घट्ने डर बढेको बताइन् । “हामीसँग सिँचाइको सुविधा छैन । सबै खेती वर्षा र हिमपातकै भरमा हुन्छ । यदि अब पनि हिउँ नपरे अन्न उत्पादन आधा घट्न सक्छ ,” उनले भनिन् ।

कृषि ज्ञान केन्द्र बझाङका अनुसार लामो समयसम्म चिस्यान नहुँदा माटोको उर्वराशक्ति घट्नुका साथै बालीमा रोग लाग्ने सम्भावना पनि बढ्ने गर्छ । केन्द्रका कृषि प्राविधिकहरूका अनुसार अहिलेको अवस्था यस्तै रहेमा यस वर्ष जिल्लामा हिउँदे बालीको उत्पादनमा उल्लेख्य कमी आउन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूले पछिल्ला वर्षहरूमा मौसम चक्रमा आएको परिवर्तनका कारण हिमाली क्षेत्रमा पनि समयमै हिमपात नहुने समस्या बढ्दै गएको बताएका छन् । जलवायु परिवर्तनको असरले परम्परागत खेती प्रणालीमा प्रत्यक्ष असर परिरहेको उनीहरूको भनाइ छ ।

हिमपात र वर्षाको भरमा जीविकोपार्जन गर्दै आएका बझाङका किसानहरू अहिले आकाशतर्फ आशा बोकेर हेरिरहेका छन् । समयमै हिमपात भए मात्र बाली जोगिने आशा रहेकाले किसानहरूले सरकारसँग दीर्घकालीन सिँचाइ व्यवस्था र मौसमअनुकूल कृषि नीति बनाउन माग गरेका छन् ।


 

Loading...