बस दुर्घटनाका घाइतेहरुको निशुल्क उपचार व्यवस्था मिलाउन एमाले नेता महरको आग्रह

बझाङ : बैतडीको पुर्चौंडी नगरपालिका–७ मा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महरले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेका हुन् । बिहीबार जन्ती लिएर बझाङ फर्किने क्रममा सोही वडाको बढगाउँ मोडमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो ।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महर बिहीबार राति डडेल्धुरा अस्पताल पुगेका थिए । उनले घाइतेहरूको उपचारमा सहजीकरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । सोही क्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालसँग भेट गर्दै उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग राखेका हुन् ।

मन्त्री पाल पनि घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । अस्पतालमै भएको भेटघाटका क्रममा महरले दुर्घटनामा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । जवाफमा मन्त्री पालले शुक्रबार बस्ने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिने बताएका छन् ।

उक्त बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । महरले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँग पनि आग्रह गरेका छन् ।

Loading...