बझाङ : प्रतिनिधिसभा सदस्य ऐन महरले सुदूरपश्चिम प्रदेशमा भाँगो खेतीलाई वैधानिकता दिन आवश्यक विधेयक तयार पार्ने बताएका छन् । शुक्रबार बझाङमा आयोजित जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै महरले भाँगो खेतीलाई व्यवस्थित र कानुनी रूपमा सञ्चालन गर्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् ।
उनले गण्डकी प्रदेशमा भाँगो खेतीले वैधानिकता पाइसकेको उल्लेख गर्दै सुदूरपश्चिममा पनि किसानले भाँगो खेती गर्न पाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न विधेयक तयार पार्ने बताए ।
भाँगोबाट विभिन्न प्रकारका लुगा कपडा, झोला, अचारलगायतका सामग्री उत्पादन गर्न सकिने भन्दै महरले यसलाई स्थानीय उत्पादन र आयआर्जनसँग जोड्न सकिने धारणा व्यक्त गरे ।
महरले भाँगो खेतीलाई परम्परागत रूपमा मात्रै नहेरी यसको व्यावसायिक सम्भावनालाई समेत अध्ययन गर्नुपर्ने बताए । कानुनी व्यवस्थासहित व्यवस्थित रूपमा खेती गर्न सके स्थानीय किसानको आयआर्जन बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
यस्तै, महरले बझाङ जिल्लाको समग्र विकासका लागि स्थानीय तह, सरकारी निकाय र कर्मचारीबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए । जिल्लाको विकासका लागि सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।