माछापुच्छ्रे-७ मा शतप्रतिशत नतिजा: शिक्षक र एसईई उत्तीर्ण विधार्थी सम्मानित

धम्पुस: कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ मा अवस्थित दुई माध्यमिक विद्यालयले यो वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेका छन् । वडाका पृथ्वीनारायण माध्यमिक विद्यालय र उदय माध्यमिक विद्यालयले उत्कृष्ट सफलता प्राप्त गरेपछि वडा कार्यालयको आयोजनामा उत्तीर्ण विद्यार्थी र शिक्षकहरूलाई एक समारोहका बीच सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

​कार्यक्रममा वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारी, वडा सदस्य, दुवै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, शिक्षक शिक्षिकाहरू तथा एसईई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

​वडा कार्यालयको प्रतिबद्धता: कम्प्युटर शिक्षा र निरन्तर साथ

​कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष भण्डारीले दुवै विद्यालयबाट उत्तीर्ण भएका कुल २४ जना विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको थप सफलताको शुभकामना व्यक्त गरे ।

​विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि वडा कार्यालय सधैं सँगै रहने प्रतिबद्धता जनाउँदै वडाध्यक्ष भण्डारीले भने, “विद्यार्थीहरूको शैक्षिक विकास नै वडाको विकास हो । आगामी दिनमा वडा कार्यालय विद्यार्थी र विद्यालयको हरेक पाइलामा सधैं सँगै रहनेछ ।”

​यसै क्रममा वडाध्यक्ष भण्डारीले शिक्षा क्षेत्रको आधुनिकीकरणका लागि वडा नं. ७ मा रहेका दुवै माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षा सुचारु गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शतप्रतिशत नतिजा ल्याउन खटिने सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि गुणस्तर वृद्धिका लागि अनुरोध गरे ।

​कार्यक्रममा बोल्दै उदय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षेत्रीले आधारभूत तहबाटै शिक्षाको जग बलियो हुनुपर्ने कुरामा जोड दिए ।

​विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्ने कुरा औंल्याउँदै प्रधानाध्यापक क्षेत्रीले भने, “अब हाम्रा विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनु पर्छ । शिक्षकहरूले एआई टुल्स र आधुनिक प्रविधिको प्रयोग गरेर शिक्षण गराउनु पर्छ ।”

​उत्साहजनक वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव विष्णुप्रसाद आचार्यले गरेका थिए ।

Loading...