जंगली च्याउ टिप्न गएका खप्तड छान्नाका जितेन्द्र ५ दिनदेखि बेपत्ता

बझाङ : खप्तड छान्ना गाउँपालिका–७ गोर्खालिकाका ३३ वर्षीय जितेन्द्र खड्का पाँच दिनदेखि परिवारको सम्पर्कविहीन भएका छन् । भदौ २३ गते बिहान घरबाट गोर्खालिकास्थित लहरे सामुदायिक वनको डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न भन्दै हिँडेका खड्का हालसम्म घर नफर्किएको परिवारले जनाएको छ । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने गर्दछ । आफन्तका अनुसार उनी ‘च्याउ टिप्न जान्छु, बेलुका फर्किन्छु’ भन्दै घरबाट निस्किएका थिए ।
तर पाँच दिन बितिसक्दा पनि खड्काको कुनै खबर नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन् । खड्काले बोकेको मोबाइलमा फोन लाग्ने भए पनि फोन रिसिभ नहुने गरेको परिवारको भनाइ छ ।

खड्का सम्पर्कविहीन भएपछि परिवारले खोजी खबर गरिदिन सबैसँग आग्रह गरेको छ । यता, जिल्ला प्रहरी कार्यालय बझाङले पनि जितेन्द्र खड्का हराएको सम्बन्धमा जानकारी प्राप्त भएको जनाउँदै उनको मोबाइल लोकेसन ट्र्याकिङ गर्दा बाजुराको बडिमालिकाको टेम्पल टावरको कनेक्सन देखाएको जनाएको छ । उनको खोजीका लागि प्रहरी संयन्त्र परिचालन गरी सम्भावित स्थानमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवारले खड्कालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन आग्रह गरेको छ ।

Loading...