काठमाडौँ । वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको सामाजिक तथा गैरनाफामूलक संस्था कल्प फाउन्डेसनले ललितपुरको भैँसेपाटीमा मानसिक स्वास्थ्य र सुस्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
शुक्रबार गोल्डेन गेट रिह्याव सेन्टरमा आयोजित कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले मानसिक स्वास्थ्य र सुस्वास्थ्यका विषयमा छलफल चलाए ।
कार्यक्रममा रिह्याव सेन्टरमा रहेका लागुऔषधलगायत विभिन्न प्रकारका दुर्व्यसनबाट प्रभावित करिब ४० जनाको सहभागिता थियो । रिह्याव सेन्टरमा ८५ जना रहेको बताइएको छ ।
डा. अधिकारीले व्यस्त जीवन बिताउने, राम्रो संगत गर्ने, आफूलाई विश्वास लाग्ने व्यक्तिसँग आफ्ना समस्या सुनाउने, चिकित्सकको परामर्श लिने र सामाजिक सञ्जालको सही प्रयोग गर्ने गरेमा दुर्व्यसन नियन्त्रण गर्न तथा मानसिक समस्या कम गर्न सहयोग पुग्ने बताए ।
उनले लागुऔषधलगायत दुर्व्यसनमा रहेका व्यक्तिलाई परिवार र समाजले अपराधीका रूपमा नभई समस्यामा परेका व्यक्तिका रूपमा हेर्नुपर्ने बताए । उनीहरूप्रति सम्मानजनक व्यवहार गर्दै आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

दुर्व्यसनबाट छुटकारा पाउन सम्बन्धित व्यक्तिको इच्छाशक्तिसँगै परिवार र समाजको सहयोग आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा उनले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक पनि प्रस्तुत गरे ।
तनाव वा औडाहा भएको अवस्थामा सामान्य श्वासप्रश्वासको अभ्यासले पनि सहज बनाउन सकिने डा. अधिकारीले बताए । उनका अनुसार त्यस्तो अवस्थामा भुइँमा बसेर नाकबाट चार सेकेन्ड सास लिने, चार सेकेन्ड रोक्ने र चार सेकेन्ड लगाएर मुखबाट सास फाल्ने अभ्यास गर्न सकिन्छ ।
कार्यक्रममा रिह्याव सेन्टरमा रहेका व्यक्तिहरूले डा. अधिकारीसँग आफ्ना समस्याबारे प्रश्न गरेका थिए । उनीहरूले समस्याबाट बाहिर निस्कने उपायबारे पनि जानकारी लिएका थिए ।
वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले आफूले पहिलोपटक दुर्व्यसनमा रहेका व्यक्तिका समस्या बुझ्ने अवसर पाएको बताए ।
डा. अधिकारीबाट धेरै कुरा बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले लागुऔषध दुर्व्यसन घरघरको समस्या भएको बताए । यस क्षेत्रमा आगामी दिनमा पनि थप कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाए ।
उनले जानीनजानी भएका गल्तीबाट बाहिर निस्कन दुर्व्यसनमा रहेका व्यक्तिलाई आग्रह गरे ।
वीटीआईका प्रमुख कार्यकारी अधिकृत दिलीपराज बरालले गोल्डेन गेट रिह्याव सेन्टरमा आएर समाज बुझ्ने अवसर पाएको बताए ।
‘हामी आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रममार्फत ज्ञान र सीप बाँड्न तयार छौँ,’ उनले भने ।
गोल्डेन गेट रिह्याव सेन्टरका अध्यक्ष नागेश खड्कीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा दुर्व्यसनमा रहेका व्यक्तिको आँट, हिम्मत र आत्मविश्वास बढ्ने बताए । यसले उनीहरूलाई सामान्य जीवनमा फर्किन सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा वीटीआईका वरिष्ठ कार्यक्रम प्रबन्धक राजन अधिकारी तथा रिह्याव सेन्टरका पदाधिकारीहरूको उपस्थिति थियो ।