अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टलद्वारा बौद्ध गुम्बामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

 

काठमाडौं । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्वास्थ्य सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टल ले बौद्धस्थित परमपूजनीय एच.एच. झाम्पाल लोडे रिन्पोछेद्वारा सञ्चालित थेक्चोक वोड्साल पाल्युल छोएलिङ गुम्बा मा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

गुम्बामा आयोजित उक्त शिविरमा एक सयभन्दा बढी लामा गुरु, भिक्षु तथा स्थानीय समुदायका व्यक्तिहरूले प्रत्यक्ष रूपमा दन्त स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा सहभागीहरूको मुख तथा दन्त स्वास्थ्य परीक्षण, परामर्श, दाँत भर्ने, दाँत निकाल्ने, औषधि वितरण तथा आवश्यक उपचार सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो ।

विशेषगरी बालबालिका तथा युवाहरूमा दाँतमा किरा लाग्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले फ्लोराइड एप्लिकेशन सेवा समेत सञ्चालन गरिएको थियो। यस सेवाले दाँतलाई मजबुत बनाउनुका साथै भविष्यमा हुन सक्ने दन्त समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।

शिविरलाई सफल बनाउन सगरमाथा आरोही तथा समाजसेवी म्यागेन लामा “सरिता” घिसिङ र प्रीति घिसिङ ले अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टलसँग सहकार्य गर्दै महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको थियो। उहाँहरूको सक्रिय सहभागिता र सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजकले जनाएको छ ।

अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टलका प्रतिनिधिहरूले दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका समुदायसम्म गुणस्तरीय दन्त स्वास्थ्य सेवा पुर्‍याउने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिने जानकारी दिइएको छ ।

स्वास्थ्य सेवा केवल व्यवसाय नभई सामाजिक दायित्व पनि हो भन्ने मान्यतालाई आत्मसात गर्दै अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टलले विगतदेखि नै विभिन्न विद्यालय, गुम्बा, सामाजिक संस्था तथा समुदायमा निःशुल्क दन्त स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। बौद्ध गुम्बामा सम्पन्न यो शिविर पनि त्यसै अभियानको एक महत्वपूर्ण कडीका रूपमा रहेको छ ।

कार्यक्रमको समापनमा गुम्बा व्यवस्थापन पक्षले अन्नपूर्ण मल्टिस्पेसियालिटी डेन्टलको सेवाभाव, चिकित्सकीय योगदान तथा समुदायप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेको थियो ।

Loading...