छत्यालको हातमा वनको भवन, बादरको हातमा नरिवल !

नेपाली लोकजनमा प्रचलित उखान छ- बादरको हातमा नरिवल । अयोग्य व्यक्तिको हातमा बहुमुल्य वस्तु पर्दा त्यसको उपयोग हुन नसक्नु वा गलत प्रयोग हुने सन्दर्भलाई बिम्बमा व्यक्त गर्दा यो उखान अर्थ्याउने गरिन्छ ।

सन्दर्भ हालसालैको हो । बझाङका एक नामुद ठेकेदार हुन् हिरेन्द्र छन्त्याल । उनको विद्या कन्ट्रक्सन कम्पनी छ ।

छत्यालले आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बझाङको ठेक्का पाए । जसको लागत रकम १ करोड ७६ लाख रहेको छ । वन कार्यालय र निर्माण कम्पनी बिच एक वर्षभित्रै भवन निर्माण गरिसक्नु पर्ने सम्झौता भएको छ । तर, ठेकेदार छत्यालले २ वर्ष बितिसक्दा समेत भवन निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

सम्झौता बमोजिमको समयसिमाभित्र भवन निर्माण हुने नदेखिएपछि वन कार्यालयले एक वर्ष समय म्याद थप गरेको थियो । थपिएको समयभित्र पनि छत्यालले भवन निर्माण गरीसक्ने कुनै छाटकाट छैन । छत्यालको यो रबैया देखेर वन कार्यालयका कर्मचारी हैरान छन् । वन कार्यालयबाट भवन निर्माण गर्न बारम्बार मौखिक तथा लिखित रुपमै ताकेता भएपनी छत्यालले छन्द मिलाउने चेस्टा गरेका छैनन् ।

वन डिभिजन कार्यालय प्रमुख कर्ण खाती भन्छन्, ‘काम गर्न हारगुहार गर्यौं, लिखत अनुरोध गर्यौं । ठेकेदारले भवन निर्माणमा तदारुकता देखाएका छैनन् । जे गर्दा पनि नहुने । अब यसको ओखती के होला? अहिले हामी जिर्ण भवनलाई टालटुल गरेर बसेका छौं । जोखिम निकै छ ।’

वन डिभिजन कार्यालयको भवन के कति कारणले निर्माण ढिलासुस्ती भएको हो भन्ने सम्बन्धमा ठेकेदार छत्यालसँग बुझ्दा कामदार नपाएर ढिला हुन गएको बताए । मजदुरको जिम्मा लिएको व्यक्तिले समयमा काम नगरिदिँदा ढिला हुन गएको उनी बताउँछन् । भवन २ तलाको बनी सेकेको हुनाले अब प्लास्टर मात्रै गर्न बाँकी रहेको उनको तर्क छ । उनी भन्छन्, ‘मजदुरको जिम्मा लिएको व्यक्तिले नै ढिला गरेको हुनाले यस्तो भयो । अब प्लास्टर गर्न मात्रै बाँकी छ । टायल लगाउने काम पनि सँगै हुन्छ ।’ आर्थिक वर्ष समापन हुन लाग्यो, कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा छत्यालले भने, ‘जसरी पनि यसै आर्थिक वर्षमा समापन गर्छु ।’

Loading...