सुनिल मण्डेल : कतिपय प्रेमहरू समाजले स्वीकार्छ । कतिपय प्रेमहरू समयले जित्छ । तर केही प्रेम यस्ता पनि हुन्छन्, जसलाई न समयले साथ दिन्छ, न समाजले । ती प्रेमहरू न पूर्ण रूपमा बाँच्न पाउँछन्, न पूर्ण रूपमा मर्न । हाम्रो कथा पनि त्यस्तै एउटा कथा हो ।
हामी दुवैको आ-आफ्नै संसार थियो । कसैको श्रीमान्, कसैकी श्रीमती, अनि घर, परिवार, जिम्मेवारी र विश्वासको घेरा । ती सबै हुँदाहुँदै पनि कहिले, कसरी एकअर्काको मनमा ठाउँ बनायौं त्यो हामी आफैंलाई थाहा भएन । सुरुमा सामान्य भेटघाट र कुराकानी थियो । त्यसपछि दिनको सुरुवात र अन्त्य एकअर्काको आवाजबाट हुन थाल्यो । व्यस्त समयका बीचमा पनि एकअर्काका लागि केही मिनेट छुट्याउने बानी बन्यो । हामी प्रेममा थियौं, तर त्यो प्रेमलाई संसारसामु चिनाउने अधिकार हामिलाइ थिएन ।
समय बिस्तार बित्दै गयो । प्रेमसँगै शंका पनि बढ्यो । अपेक्षा बढ्यो । रिस बढ्यो । एउटा आगो बन्थ्यो भने अर्को पेट्रोल । साना कुराले ठूलो झगडा निम्त्याउँथ्यो । “अब कहिल्यै नबोल्ने” निर्णय दिनमै कति पटक भयो, गन्न सकिँदैन । तर अनौठो कुरा के थियो भने, मौनता जित्थ्यो, अहंकार जित्थ्यो, तर मनले कहिल्यै जितेन । दिनौँसम्म सम्पर्क नहुँदा पनि औँलाहरू फोनको ग्यालरीमा पुग्थे । एउटा तस्बिर हेरेर घण्टौँ बित्थ्यो । सँगै बिताएका क्षणहरू सम्झँदा आफू मुस्कुराइरहेको छु कि रोइरहेको छु भन्ने छुट्याउन गाह्रो हुन्थ्यो ।
मानिसले भन्छ, समयले सबै घाउ निको पार्छ । सायद सबै घाउ पार्छ, तर केही सम्झनाहरूलाई झन् गहिरो बनाइदिन्छ ।
मसँग जीवनमा सबैथोक थियो । परिवार थियो, जिम्मेवारी थियो, चिनजानका मानिस थिए । तर भित्र कतै एउटा खाली कोठा थियो, जहाँ तिम्रो सम्झना मात्रै बस्थ्यो । भीडको बीचमा पनि म एक्लो थिएँ । हाँस्दा पनि मन रोइरहेको हुन्थ्यो । तिमीलाई मैले कहिल्यै शरीरका आँखाले हेर्न खोजिनँ । म त तिम्रो मनसँग जोडिन चाहन्थेँ प्रिय । न कुनै स्वार्थ थियो, न कुनै चाहना । यस्तो प्रेम, जसले स्पर्शभन्दा बढी आत्मालाई छुन खोज्थ्यो ।
सायद हाम्रो सबैभन्दा ठूलो गल्ती प्रेम गर्नु थिएन । गल्ती त त्यो थियो, जब प्रेम र जिम्मेवारी एउटै बाटोमा आए । एउटा रोज्दा अर्को छुट्ने निश्चित थियो । आज पनि कहिलेकाहीँ लाग्छ, यदि हामी केही वर्ष अगाडि भेटिएका हुन्थ्यौं भने कथा अर्कै हुन्थ्यो कि? यदि परिस्थितिले हामीलाई फरक मोडमा उभ्याएको भए, सायद यो पीडा लेखिरहनुपर्ने थिएन । तर जीवन ‘यदि’ र ‘सायद’ ले चल्दैन । त्यसैले हामी आ-आफ्नो जिम्मेवारीतिर फर्कियौँ । बाहिरबाट सबै सामान्य देखिन्छ । तर केही प्रेमहरू कहिल्यै समाप्त हुँदैनन्, तिनीहरू बोल्न छोड्छन् ।
सायद तिमीले यो लेख कहिल्यै नपढ्लौ । पढ्यौ भने पनि आफूलाई चिन्न नचाहलौ । तर यदि कुनै दिन अचानक कुनै पुरानो गीत सुन्दा मन भारी भयो भने, कतै एउटा मन अझै पनि तिम्रो खुसीको कामना गरिरहेको छ भन्ने सम्झनु । प्रिय, म तिमीलाई आफ्नो बनाउन चाहन्नँ । म यति चाहन्छु, जुन दिन जीवनले थकित बनाउँछ, त्यो दिन तिमीले सम्झनू यो संसारमा एउटा यस्तो मन पनि थियो, जसले तिमीलाई कुनै स्वार्थ बिना, कुनै अधिकार बिना, पवित्र प्रेम गरेको थियो ।
आज पनि दिनरात गहिरिँदै जाँदा, मनका सबै आवाजहरू अन्ततः तिम्रै नाममा आएर रोकिन्छन् । समयले धेरै कुरा बदलिदियो, तर तिमी बसेको ठाउँ भने बदल्न सकेन । सायद बदल्ने चाहना पनि कहिल्यै भएन । विगतमा हामीबाट गल्ती भए । रिस गर्यौं, चिच्यायौं, मौन भयौं । कहिलेकाहीँ आफूलाई सही प्रमाणित गर्ने होडमा एकअर्काको मन कति चोटियो भन्ने नै सोचेनौं । आज फर्केर हेर्दा हामीले प्रेमभन्दा बढी अहंकारलाई जित्न दियौं जस्तो लाग्छ । तर यति धेरै उतारचढावपछि पनि एउटा कुरा भने कहिल्यै फेरिएन, म तिमीलाई माया गर्छु, हिजो पनि गर्थें, आज पनि गर्छु र भोलि पनि गर्नेछु ।
मलाई तिम्रो शरीर होइन, तिम्रो साथ चाहिएको हो । मलाई तिम्रो अधिकार होइन, तिम्रो विश्वास चाहिएको हो । तिम्रो जीवन बिगार्ने कुनै इच्छा छैन, बरु तिम्रो अनुहारमा मुस्कान देख्न पाए पुग्छ भन्ने चाहना अथाह छ । तिम्रो भावनामाथि मैले कहिल्यै खेल्ने छैन, कहिल्यै खेल्न पनि सक्दिनँ । प्रेम भनेको कसैलाई प्रयोग गर्नु होइन, प्रेम भनेको कसैको मन सुरक्षित राख्नसक्नु पनि प्रेम हो बुझेको छु । प्यारी मान्छे, मलाई तिमी पहिलेको जस्तै चाहिन्छौ । त्यो निस्वार्थ अपनत्व, त्यो सानो कुरामा चिन्ता गर्ने बानी, “खाना खायौ?” भनेर सोध्ने आवाज, मेरो दुःखलाई आफ्नै दुःख सम्झिने तिम्रो कोमल मन । आज पनि म त्यही माया खोजिरहेको छु, जुन समयले कतै लुकाइदिएको छ ।
भन्छन्, “जहाँ माया हुन्छ, त्यहाँ शंका पनि हुन्छ ।” म यो कुरा मान्छु । किनकि शंका प्राय बेवास्ताबाट होइन, गुमाउने डरबाट जन्मिन्छ । आफ्नोपन भएपछि मन अत्यन्तै संवेदनशील बन्छ । तर शंकाले सम्बन्धलाई सुधार्नुपर्छ, टुक्र्याउन होइन । रिस आए बोलौं, चित्त दुखे सुनाऔं, गल्ती भयो भने स्वीकारौं । तर मौन भएर, एकअर्कालाई सजाय दिएर प्रेमलाई सुक्न नदिऔं पिलिज । किनकि धेरै सम्बन्ध झगडाले होइन, लामो मौनताले मर्छन् ।
यदि तिमीलाई कहिल्यै लाग्यो होला कि म थाकेको छु, मेरो तेस्रो मान्छे कोहि होला । विश्वास गर, म प्रेमबाट थाकेको होइन, जिवनमा तिमि बाहेक कसैलाई रुचाएन । बरु तिमीबिनाको दूरीबाट थाकेको हुँ । यदि कहिल्यै लाग्यो कि म बदलिएको छु भने, त्यो समयको दबाब हुन सक्छ, तर तिम्रो लागि धड्किने मन भने बदलिएको छैन । म तिमीसँग कुनै असम्भव सपना मागिरहेको छैन प्रिय । हामी फेरि मन खोलेर कुरा गर्न सकौं । फेरि एकअर्काको खुसी र पीडा संगै सुन्न सकौं । फेरि त्यही विश्वासको डोरी समात्न सकौं, जुन हाम्रो आफ्नै हातले फुस्किएको थियो । बस् म यत्ति चाहन्छु ।
सायद हाम्रो भाग्यले हामीलाई एउटै छानामुनि बाँच्ने अवसर नदेला । तर यसको अर्थ यो होइन कि हाम्रो मनभित्रको सम्मान, विश्वास र निस्वार्थ माया पनि मर्नुपर्छ । यदि कुनै दिन तिमीले सबै रिस बिर्सेर, सबै चोट बिर्सेर एकपटक मात्र फर्केर हेर्यौ भने, तिमिले मलाई तिम्रो प्रतीक्षामा कुनै गुनासो बिना, कुनै स्वार्थ बिनाको भेट्नेछौ । र अन्तिम पटक फेरि भन्छु ।
म विगतलाई बदल्न सक्दिनँ, तर भविष्यमा तिम्रो भावनामाथि कहिल्यै खेल्ने छैन । तिमीलाई चोट पुर्याउने कारण होइन, सधैं ढाडस दिने मान्छे बन्न चाहन्छु । यदि तिम्रो मनमा अझै कतै मेरो लागि एउटा सानो कुनो बाँकी छ भने… प्रिय, म एकपटक फेरि फर्केर आऊँछु, अनि तिमी पनि आउ है ।