खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बझाङका सुपरभाइजर उत्तम भण्डारी र बमर्यालगाउँ खानेपानी उपभाेक्ता साेभान धामी बिचको सनसनीपूर्ण अडियो बाहिरिएको छ । ती दुई व्यक्तिबिचको फोन संवाद निकै आपत्तिजनक छ । भण्डारीले अडिओमा पत्रकारकाे ज्यान लिने अभिव्यक्ति दिइरहेका छन् ।
नेपाल एंगलका रिपोर्टर सुनिल मण्डेलले असार २६ गते ‘योजनाको रकम कुम्ल्याउन खोज्ने खानेपानी कार्यालय बझाङका कर्मचारीको यस्तो योजना (नालीबेली)’ शीर्षकमा समाचार लेखेका थिए ।
छविसपाथिभेरा गाउँपालिका ५ को बमर्यालगाउँ खानेपानीका एक उपभोक्तासँग संवादमा कर्मचारी भण्डारी भन्छन्, ‘त्यस (पत्रकार) लाई मार्यो, कुटपिट गर्यो भने थुप्रै बझाङ्गी हाँस्ने पनि छन्, उनी थप्छन् ‘म त्यसलाई जिउँदो छोड्दैन । म हिजोअस्ती देखि डिप्रेसनमा छु । मान्छे मर्न र मार्न बेर लाउँदैन ।’
संवादमा भण्डारीले आफ्नो चरित्रहत्या हुने गरी समाचार प्रकाशन भए ठिक नहुने बताएका छन् । उनले यसअघि सार्वजनिक भएको अडिओमा ‘कमिसन’ माग्न सुझाव दिएको विषय मजाक भएको दाबी गरेका छन् । उनी भन्छन्, ‘मैले त्यो भाइलाई जिस्केर भनेको थिए । त्यो अडिओ हटाइदिन भन्नुस् दाइ । मेरो चरित्र हत्या भयो । प्लिज दाइ ।’
यस अघि छविसपाथिभेरा गाउँपालिका ५ मा लागु भएको खानेपानीको एक क्रमागत योजनाको रकम अपचलन गर्न खोजेको विषय नेपाल एंगलले बाहिर ल्याएको थियाे । उपभोक्ता समितिलाई गुमराहामाराखी योजनाको रकम अपचलन गर्न खोजेको आरोप कर्मचारीहरूमाथि छ ।
यस्तो छ घटनाक्रमः
२०७८ मा छविसपाभिथेरा गाउँपालिका ५ मा बमर्याल गाउँ खानेपानी योजना सम्झौता भयो । क्रमागत रूपमा लागू भएको योजनाको जम्मा लागत ७ लाख रुपैयाँ थियो । जसमध्ये ३ लाख रुपैयाँ अघिल्लो आर्थिक वर्षमा भुक्तानी भएर काम सुरु भएको छ । प्रक्रिया अनुसार सो योजनामा यस वर्ष ४ लाख रकम विनियोजन हुनुपर्ने थियो । तर उपभोक्ता समितिले खोजिबिन गर्दा रकम नभएको कर्मचारीहरूले बताए । योजनाको थप रकम माग्न उपभोक्ता तथा स्थानीय नेता साेभान धामी बारम्बार खानेपानी कार्यालय पुगे, कर्मचारीहरूलाई फोन सम्पर्क गरे । तर योजनाको रकमान्तर भएको भनियो । ‘क्रमागत यो वर्ष बाँकी रकम आउनुपर्ने हो तर कर्मचारीले बजेट आएन भन्ने जवाफ दिए, उपभोक्ता सोभान धामीले गुनासो गर्दै भने, ‘योजना अन्तै गइसकेको छ भन्छन् के भएको हो थाहा छैन ।’
नेपाल एंगलले रकमान्तर भएको हो वा होइन भन्ने सन्दर्भमा विभिन्न तहका कर्मचारीलाई प्रश्न गर्दा उनीहरू आरोप प्रत्यारोपमा उत्रिएका थिए । खानेपानी कार्यालयको स्टोर हेर्ने प्रेम सिंहले सब इन्जिनियर अस्मित स्वाँर र सुपरभाइजर उत्तम भण्डारीले रकमान्तर गरेको आरोप लगाएका थिए । कार्यालय प्रमुख परिवर्तन भएको बेला स्वाँर र भण्डारीको मिलेमतोमा सो योजनाको रकमान्तर गरिएको उनको भनाई थियो । ‘अस्मित स्वाँर र उत्तम भण्डारीले योजनाको रकमान्तर गरेका रहेछन् । सब इन्जिनियर अस्मित स्वाँर र उत्तम भण्डारीले कसरी यसो गरे थाहा छैन । उनीहरूलाई सोध्नुपर्छ यसमा मलाई केही थाहा छैन,’ प्रेम सिंहले भने ।
प्राविधिक तथा सुपरभाइजर उत्तम भण्डारीले सो बारेमा माथिल्लो तहका कर्मचारीलाई थाहा हुने बताए । यसबारेमा आफूलाई जानकारी नभएको उनको सुरुवाती अडान थियो ।
घटनाक्रममा ट्विस्ट
यो विषयमा खोजकै क्रममा हामी खानेपानी कार्यालयका तालुक निकायसँग जानकारी लिने काम गरिरहेका थियौँ । त्यसैबिच उपभोक्ता सोभान धामीले खानेपानी कार्यालयबाट पाइप लिनका लागि कर्मचारीले फोन गरेको जानकारी दिए । केही दिन अघिसम्म रकम नै नभएको भनेर घर फर्काइएका उपभाेक्ता समितिका पदाधिकारी अब एकाएक पाइप मात्रै होइन थप पैसा पनि पाउने भए । रकमान्तर भएको रकम फेरी आश्चर्यचकित तरिकाले सोही शीर्षकमा फर्कियो । नेपाल एंगलको एक/दुई फोनले खानेपानी कार्यालयमा चमत्कार नै भयो । रकमान्तर भएको चार लाख एकाएक पुरानै शीर्षकमा फर्कियो । यो अलौकिक चमत्कार प्रत्यक्ष भोगी सकेपछि हामीले पुनः तीनै कर्मचारीहरूलाई यसको रहस्यको बारेमा जिज्ञासा राख्यौँ । प्राविधिक उत्तम भण्डारीले भने यता कुरा मिली सक्यो तपाईँको के टाउको दुखाई?
केही दिनअघिसम्म बजेट नै काटिएको शीर्षकमा एकाएक कसरी बजेट आयो? कर्मचारीहरूले किन बजेट आएको छैन भने? उनीहरूको नियत के थियो? खानेपानी कार्यालयको पारदर्शिता र कर्मचारीको नियतमाथि गम्भीर प्रश्न उठेका छन् । कतै त्यो रकम कुम्ल्याउन खोजिएको त थिएन? सरोकारवालाहरू सशङ्कित भएका छन् ।
क्रमागत योजनामा पनि यो खालको बदमासी हुने गरेको जानकारहरू बताउँछन् । सो विषयसँग जानकार त्रिदेव जप्रेल भन्छन्, ‘प्रायः जसो बझाङका विकासे कार्यालयमा यस्तो भइरहन्छ । १० प्रतिशतसम्म कमिसन दिए आवश्यकता नभएको ठाउँमा पनि बजेट आउँछ । पैसा नदिए आयको योजना कार्यान्वयन गर्न धौधौ हुन्छ ।