छबिस पाथीभेरा गाउँपालिका २ जयपृथ्वी नगर मेल्लेख स्थित सत्यवादी माध्यमिक विद्यालयले मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४७ औँ जन्म जयन्ती मनाएको छ । विद्यालयमा निर्माण गरिएको सालिक उद्घाटन गर्दै माल्यार्पण गरीएको थियो ।
जयपृथ्वीको सालिकमा माल्यार्पण गर्दै वडाध्यक्ष मण्डेल
शुक्रवार विद्यालयले साँस्कृतिक कार्यक्रम गर्दै सिंहको जन्म जयन्ती मनाएको हो । सत्यवादी माद्ययमीक विद्यालयले प्रत्येक वर्ष भदौ ७ गते जन्म जयन्ती मनाउँदै आएको छ । कार्यक्रममा कालिका आधारभूत विद्यालय काप्डिगाउँ र युवाशक्ती आधारभूत विद्यालय सुनखोलाका शिक्षक विद्यार्थीको पनि सहभागिता रहेको थियो । साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । आजको कार्यक्रममा शैक्षिक सामाग्री, प्रमाणपत्र मादल विद्यार्थीलाई पुरस्कार दिइएको छ । यस्तै हाजिरी जवाफ प्रतियोगिता, चम्चा दौड, चियर रेसको खेल सञ्चालन गरिएको थियो ।
आजकै दिनमा सत्यवादी माध्यमिक विद्यालयमा कार्यरत २ जना शिक्षकको बिदाइ समेत गरिएको छ । उक्त विद्यालयमा विगत लामो समय देखी सेवारत शिक्षक लाल बहादुर कडायत र राम बहादुर कडायताको बिदाइ गरिएको हो । उनीहरूको अनिवार्य अवकाश पुगेपछि बिदाइ गरेको थियोे । शिक्षक लालबहादुर कडायताको सेवा अवधि ३८ वर्ष ११ महिना २० दिन, रामबहादुर कडायताको ३९ वर्ष ४ महिना १४ दिन रहेको थियो । उहाँहरूको उमेर पनि ६० वर्ष पूरा भई अनिवार्य अवकाश गरिएको हो ।
निवृत्त शिक्षक लालबहादुर कडायतले छात्रवृत्ति अक्षय कोषमा ५ लाख १ हजार रुपैयाँ जम्मा गर्ने बताएका छन् । आफ्नो र धर्मपत्नीको नामबाट लाल-मोतीकला छात्रवृत्ति अक्षय कोष स्थापना गरी रकम जम्मा गरिने उनले बताए । उक्त छात्रवृत्ति अक्षय कोषमा जम्मा भएको रकमले अर्को वर्ष गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रूपमा वितरण गरिने सत्यवादी माविका प्रधानाध्यापक भैरव बहादुर कडायतले बताएका छन् ।
शुक्रवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास सिंह कडायताको सभाध्यक्षमा सुरु भएको । कार्यक्रममा छबिस पाथिभेरा गाउँपालिका – २ का वडाध्यक्ष पविन्द्र मण्डेल प्रमुख वक्ता रहेका थिए । यस्तै विशिष्ट अतिथि नेपाली काङ्ग्रेस छबिस पाथिभेरा गाउँपालिका सभापति पाण्डव थापा रहेका थिए ।
कार्यक्रमको औचित्यको बारेका प्रधानाध्यापक भैरव बहादुर कडायतले, स्वागत मन्तव्य सह-प्र अ हस्तबहादुर कडायत राखेका थिए, कार्यक्रमको उद्घोषण शिक्षक महेश ऐडिले गरेका थिए ।