शिक्षक सरुवामा ‘चलखेल’ हुने गरेको चर्चा चलिरहेका बेला एक शिक्षिकाको अदालतको परमादेशबाट सरुवा भएको छ।
सबै कागजात पुगेर पनि नियमावलीको ‘गलत’ व्याख्या गर्दै इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले रोकेको अन्तर जिल्ला सरुवा गर्न इलामस्थित उच्च अदालतले परमादेश जारी गरेको हो।
अदालतको परमादेशपछि तत्काल कार्यरत दरबन्दीमा मात्र नभई त्यस अघिका जुनसुकै दरबन्दीमा स्थायी नियुक्ति पाएको एक वर्ष बितेपछि शिक्षकको सरुवा गर्न सक्ने बाटो खुलेको छ।
पाँचथर फालेलुङको सिद्धकाली माध्यमिक विद्यालयमा कार्यरत इलाम सन्दकपुर–२, माइमझुवाकी शिक्षिका बन्दना ढकालले इलाम सन्दकपुर गाउँपालिकाको माईपोखरी संस्कृत माविमा सरुवाका लागि गत चैत २७ मा शिक्षा इकाईमा कागजात बुझाएकी थिइन्। तर, मावि दरबन्दीमा स्थायी नियुक्ति पाएको एक वर्ष नपुगेको भन्दै तत्कालीन इकाई प्रमुख शम्भु थापामगरले उनीसहितका शिक्षकको सरुवा रोकेका थिए। ढकालले कागजात बुझाउँदा उही प्रकृतिकी एक शिक्षिकाको अन्तर जिल्ला सरुवा गरिसकेका थापामगरले आफूले गरेको त्यो सरुवा चाहिँ ‘भुलवश’ भएको जबाफ दिने गरेका थिए।
प्रावि दरबन्दीमा २०७६ मंसिरमै नियुक्त भइसकेकी शिक्षिका ढकालले शिक्षा विकास तथा समन्वय इकाईविरुद्ध गत असार २५ मा रिट दायर गरेकी थिइन्। उनको रिटमा अदालतले भदौ १९ मा परमादेश जारी गर्दै पुरानै नियुक्तिको मितिलाई अवधिको आधार मानेर सरुवा गर्न परमादेश जारी गरेको ढकालले बताइन्।
‘मैले सबै कागजात पुर्याएर निवेदन दिँदा सरुवा अनुुमति दिइएन,’ उनले भनिन्, ‘जबकि, म जस्तै प्रकृतिकी अर्की शिक्षिकाको केही दिनअघि यही कार्यालयले सरुवा गरिदिएको थियो।’
आफू गर्भवती र सुत्केरी भएका बेला पटक–पटक सरुवाका लागि आग्रह गर्दा पनि शिक्षाले नटेरेपछि रिट दायर गर्न बाध्य भएको उनले बताइन्।
‘मेरो सरुवाका लागि सहजीकरण गर्न सिडिओ समेतलाई गुहारे पनि पार लागेको थिएन,’ उनले भनिन्, ‘कार्यालय प्रमुखले गरेको काम जायजै हुन्छ भन्दै सिडिओले मेरो अनुरोध स्वकार्नै मान्नुभएको थिएन। अदालतले भने न्याय दिएको छ।’ उनले परमादेश अनुसार आफू माई पोखरी संस्कृत माविमा हाजिर भएको जानकारी दिइन्।
इकाई प्रमुख डम्बर सुवेदीले परमादेशपछि शिक्षिका ढकालसहित त्यसै प्रकृतिमा रोकिएका नामसालिङका बालकुमार महत र गजुरमुखीकी टेकमाया ओझाको पनि सरुवा भएको बताए।
‘परमादेशपछि यो प्रकृतिका सरुवाको बाटो खुलेको छ,’ सुवेदीले भने।