नेपाल एङ्गलको समाचार प्रभाव: रास्वपा बझाङ नेताले बन्द गरे अवैध पेट्रोल कारोबार

बझाङमा भने पेट्रोलियम पदार्थको खुलेआम विक्रिवितरण हुँदै आएको छ । जिल्लाभर सयौँ व्यापारीले अत्यन्त प्रज्वलनशील पदार्थको खुला व्यापार गर्दै जोखिमलाई चुनौती दिइरहेका छन् । यसरी खुला रूपमा पेट्रोलियम पदार्थ विक्रिवितरण गर्नमा सर्वसाधारण मात्रै छैनन् टाठाबाठाहरु पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नगेन्द्र खड्का खुला रूपमा पेट्रोलियम पदार्थ बेच्न बझाङमा प्रतिस्पर्धा गरिरहेका थिए । यसबारेमा नेपाल एङ्गलले २२ साउनमा ‘रास्वपाका नेता पेट्रोलका अवैध कारोबारी, बझाङमा छैन नियमन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएपछि खड्काले पेट्रोलको अवैध कारोबार बन्द गरेका छन् । सदरमुकाम चैनपुरमा नेता खड्काको खड्का इन्टरप्राइजेज (हार्डवेयर ) छ । सोही हार्डवेयरमा खड्काले पेट्रोलियम पदार्थको अवैध बिक्री वितरण गर्दै आएका थिए । पेट्रोलियम पदार्थको कारोबारका लागि आयल निगमबाट अनुमति लिनुपर्ने हुन्छ । तर, खड्का भने अवैध रूपमा कालो धन्दा गरिरहेका थिए ।
स्रोतका अनुसार समाचार प्रकाशन भएपछि उनले अवैध पेट्रोल बेच्न बन्द गरेका छन् । खड्कालाई उद्धृत गर्दै उनी निकट एक व्यक्तिले भने, ‘अब पेट्रोल, डिजेल बेच्न बन्द गरेको छु । अन्य कारोबार गर्छु तर यो काम गर्दैन । उहाँले भन्नु भयो ।’
यस्तै सिमखेत जिप पार्कमा रहेका २ किराना पसलले पनि अवैध कारोबारको धन्दा बन्द गरेका छन् । यद्यपि सदरमुकामका अन्य व्यापारीले भने अझै अवैध कारोबार बन्द गरेका छैनन् ।
सदरमुकाममै ठुला व्यापारी कहलिएका व्यक्ति हुन् जगत मल्ल । उनको सदरमुकाम चैनपुरमा मल्ल स्टोर नामको होलसेल व्यापार छ । मुख्य गरी खाद्यान्न सामाग्री बिक्री वितरण गर्ने मल्ल पनि खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्छन् । मल्लको गोदाममा पेट्रोलियम पदार्थले भरिएका ठुला ठुला ड्रम छन् । धनगढीबाट ड्रममा भरेर पेट्रोलियम पदार्थ ल्याउने गरेको मल्ल बताउँछन् । सरकारी कार्यालयहरू नै पेट्रोलियम पदार्थको उपभोक्ता रहेको मल्लले बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी कार्यालय लगायतका निकायले लिने गरेका छन् । यहाँको म त आधिकारिक विक्रेता जस्तै हो ।’ तर, आफूले पेट्रोलियम पदार्थको कारोबारका लागी कुनै निकायबाट अनुमति नलिएको बताए ।
मल्ल स्टोर  र पेट्रोलियम पदार्थ
बझाङका व्यापारिक केन्द्रहरूमा यसरी नै अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने गरेको छ । व्यापारीहरूले धनगढी तथा डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ओसारेर जिल्लामा बिक्री गर्ने गरेका छन् । अहिले झन्डै ५ दर्जन भन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेका छन् ।
भगवती ग्रील उद्योगका सञ्चालक लक्ष्मण जोशीले पनि खुलेआम पेट्रोलियम पदार्थ बेच्छन् । सरकारी निकायले नै पेट्रोलियम पदार्थको माग गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘धेरैले माग गर्छन्, हामी धनगढीबाट ड्रममा ल्याउँछौँ, अरूको जस्तो बोतलमा बिक्री गर्दैनौँ । जिल्लामा पेट्रोल पम्प नहुँदा सप्लायर्सबाट बेच्ने गरेका छौँ ।’
सदरमुकाम चैनपुरमै एक दर्जन बढीले बिक्री वितरण गरिरहेका छन् । चैनपुरमा खड्का इन्टरप्राइजेज, भगवती ग्रील उद्योग, मल्ल स्टोर, सङ्गीता फेन्सी स्टोर, शैलेश्वरी फेन्सी स्टोर, हमाल ट्रेडर्स एन्ड सप्लायर्स, पुवंर हार्डवेयर एन्ड सप्लायर्सले खुलेआम बिक्री वितरण गर्छन् ।
शैलेश्वरी फेन्सी स्टोर राखिएकाे पेट्रोलियम पदार्थ
यस्तै जिल्लाका सुवेडा, तमैल, भाँडे बजार, मौरी बगर, झनाना, झोता, देउरा, बाग थला, देउलेख, बित्थड लगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिरहेका छन् ।
तोकेको शुल्कभन्दा बढी असुली
अवैध कारोबारीले तोकिएको शुल्कभन्दा बढी असुलेर बिक्री वितरण गरिरहेका छन् । हाल डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ भए बझाङमा भने २०० रुपैयाँ प्रतिलिटर असुली गरिन्छ । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २ सयसम्म असुल्ने गरेका छन् । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरूले उपभोग गरिरहेका छन् । पेट्रोलियम पदार्थको मंहगोमा किन्न परेपछि यातायात व्यवसायीले गाडी भाडासमेत बढाउने गरेका छन् ।
दुर्घटनाको जोखिम
जथाभाबी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम बढेको छ । पेट्रोलियम पदार्थ अत्यन्त प्रज्वलनशील हुने भएकोले यसले ठुलो जनधनको क्षति गर्न सक्ने स्थानीयले बताउने गरेका छन् । जिल्लाका धेरै बजारहरूमा ड्रममा भरेर डिजेल र पेट्रोल राखिएको छ । चैनपुरमा फेन्सी पसलमा पेट्रोल, ग्यारेज, सप्लार्यस, हार्डवेयर, कपडा पसलमा पेट्रोल राखेको देखिन्छ । पेट्रोलियम पदार्थलाई दुरी निर्धारण गरी बिक्री गर्न मिल्ने भए पनि अहिले प्रत्येक पसलमा भेटिने गरेको छ । यी प्रज्वलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ ।
पेट्रोलियम पदार्थ भर्दै एक बालक
खुला रूपमा बिक्री वितरण हुने पेट्रोलियम पदार्थमा पनि मिसावट हुने गरेको स्थानीय अमर दहनीको अनुभव छ । उनी भन्छन्, ‘कसैले त पेट्रोलमा पानी मिसाएका हुन्छन् ।  यसले गर्दा सवारी साधन बिग्रिने गरेका छन् ।’
बजारहरूमा अवैध रूपले पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यापारीले आलय निगमको अनुमति लिएका छैनन् । जयपृथ्वी नगरपालिकाबाट पनि कसैले अनुमति नलिएको एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘अहिलेसम्म कसैले अनुमति लिएका छैनन् र राजस्वपनि बुझाएका छैनन् ।’
छैन नियमन र अनुगमन 
महासचिव विश्वकर्माका अनुसार अवैध पेट्रोलियम पदार्थको बिक्री वितरण र नियमन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको बताए । पेट्रोलियम पदार्थसम्बन्धी कानुन नबनेको हुनाले अन्य बजार अनुगमनसरह प्रमुख जिल्ला अधिकारीले नियमन गर्न सक्ने उनको भनाई छ । साथै स्थानीय तहले पनि यसमा नियमन गर्न सक्छन् । यद्यपि बझाङमा भने प्रशासनको नजर पुग्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई सरोकारवालाले बारम्बार अवैध पेट्रोलको बारेमा जानकारी दिइरहेका छन् ।
हामीले यसअघिको समाचार प्रकाशन गर्नु अघि प्रजिअ पाण्डेयलाई अवैध पेट्रोलियम पदार्थको बारेमा प्रश्न गरेका थियौँ । त्यति बेला उनले ‘उपयुक्त समय आएपछि अनुगमन गर्छु’ भन्ने जवाफ दिएका थिए । समाचार प्रकाशन भएको तीन महिना बितिसक्दा समेत प्रजिअ पाण्डेयको उपयुक्त समय आएको छैन । समाचार प्रभावले केही व्यक्तिले पेट्रोलियम पदार्थ बेच्न बन्द गरे पनि खुल्ला कारोबार अझै उस्तै छ ।
बजार अनुगमन गर्ने, नियमन गर्ने तालुक निकाय घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घको पनि हो । तर ती निकायबाट कुनै अनुगमन र नियमन भएको छैन । साथै सदरमुकामै रहेको जयपृथ्वी नगरपालिकाले पनि पेट्रोलियम पदार्थको खुल्ला कारोबारबारे नजरअन्दाज गरेको छ ।
Loading...