आसन्न मंसिर ४ को प्रदेशसभा निर्वाचनका लागि गठबन्धनतर्फबाट बझाङ निर्वाचन क्षेत्र २ मा भीम भण्डारी उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रबाट सिफारिस भएका भण्डारीलाई गठबन्धनका दलहरूले साझा उम्मेदवारका रुपमा अगाडि बढाएका छन् । उनी अहिले बझाङका तीन ठूला दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासँगै प्रचारप्रसार अभियानमा घरदैलो गर्दै छन् ।
माओवादी केन्द्रले उम्मेदवार सिफारिसका क्रममा बझाङ प्रदेश सभा क्षेत्र २ बाट भण्डारीको एकल नाम सिफारिस गरेपछि उनलाई ‘भाग्यमानी’ उम्मेदवारका रुपमा हेरिन्छ । आकांक्षी उम्मेदवार हरि कुँवर, परमानन्द चिमाडी, शान्ति नेपाली, देवकी मल्लले भण्डारीलाई नै समर्थन गरेपछि उनी एकल रुपमा उम्मेदवार सिफारिस भएका थिए ।
उम्मेदवार सिफारिस भएदेखि नै ‘भाग्यमानी’ उम्मेदवारका रुपमा हेरिएका भण्डारीको सांसद बन्ने भाग्य गठबन्धनका दलको समर्थनले चम्किने निश्चित जस्तै छ । भण्डारीलाई भोट माग्नका लागि तीनै दलका शीर्ष नेताहरूले हालै निर्वाचन क्षेत्र २ का विभिन्न ठाउँमा संयुक्त आम सभा गरेका छन् । नेपाली काँग्रेस बझाङका शीर्षनेताहरू केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, डा. सुरेश मल्ल तथा नरेश मल्लले संयुक्त चुनावी आमसभामा सहभागि भएका थिए । गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनीहरूको भनाइ छ ।
माओवादी केन्द्र बझाङका शीर्ष नेता देवराज रेग्मी र शंकर खड्का उम्मेदवार भण्डारीलाई भोट माग्न निरन्तर लागि परेका छन् । माओवादी केन्द्र निर्वाचन क्षेत्र २ का दोस्रो तहका नेताहरू परमानन्द चिमाडी, शान्ति नेपाली, देवकी मल्ल, हरि कुँवरलगायत पनि निरन्तर चुनावी अभियानमा छन् ।
गठबन्धनका उम्मेदवार भण्डारीले बझाङ निर्वाचन क्षेत्र २ बाट एकीकृत समाजवादीको पनि राम्रो समर्थन पाएको छ । एकीकृत समाजवादी बझाङका संस्थापक नेता तथा सहायक इन्चार्ज विरेन्द्र भण्डारी गठबन्धनका उम्मेदवार भिम भणडारीलाई भोट माग्न हिँडिरहेका छन् । गठबन्धनका उम्मेदवारलाई मतदान गरेर एकीकृत समाजवादीले आफ्नो इमानदारिता पर्दशन गर्नुपर्ने उनको तर्क छ । आफू बझाङमा एकीकृत समाजवादीको संस्थापक नेता भएकाले पनि गठबन्धनप्रति आफ्नो पार्टी इमानदार भएर भोट हाल्ने भण्डारी बताउँदै आएका छन् ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा केदारस्यूँ गाउँपालिका भूतपूर्व अध्यक्ष इन्द्र भण्डारी गठबन्धनका उम्मेदवार भीम भण्डारीलाई मतदान गर्न अपिल गरिरहेका छन् । स्पष्टवक्ता र अडानमा टिक्न सक्ने स्वभाव भएका इन्द्र भण्डारी गठबन्धनका उम्मेदवारलाई भोट दिनका लागि मतदातालाई आह्वान गरिरहेका छन् । भण्डारी नेकपा एमालेबाट प्रदेशसभा उम्मेदवार एलबी रावलका ससुरा पर्छन् । एमालेका उम्मेदवार रावल नातामा ज्वाइँ परेपनि राजनीतिमा नाता गोता नहुने बताउँछन् । ‘हामी एमालेहुँदा ज्वाइँलाई एक पटक सांसद बनाएकै हौँ । यस पटक हामी समाजवादी छौँ । उहाँ एमालेको उम्मेदावर हुनुह्रुन्छ । ज्वाइँ भएपनि भोट दिन सकिदैन । भोट नदिए छोरी पाल्दैनौ भन्नुहुन्छ भनेपनि आफ्नै घरमा बोलाउँछु,’ इन्द्र भण्डारी ठट्यौले पारामा सहजै जवाफ दिन्छन् ।
बझाङ निर्वाचन क्षेत्र २ का पालिका प्रमुख र उपप्रमुखले पनि गठबन्धनका उम्मेदवार भीम भण्डारीलाई समर्थन गर्ने जनाएका छन् । पाँचवटा स्थानीय तह रहेको बझाङ निर्वाचन क्षेत्र २ का सबै पालिका उपप्रमुखले उम्मेदवार भण्डारीलाई समर्थन गरेका छन् । थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया बाँहेक दुर्गाथली, केदारस्यूँ, बुँगल, बित्थडचिर गाउँपालिका प्रमुख गठबन्धनको समर्थनमा छन् ।