आसन्न मंसिर ४ को प्रदेशसभा निर्वाचनका लागि गठबन्धनबाट बझाङ निर्वाचन क्षेत्र २ का उम्मेदवार भीम भण्डारीको जित सुनिश्चित भएको छ। नेकपा माओवादी केन्द्रबाट सिफारिस भएका भण्डारीलाई गठबन्धनका दलहरूले साझा उम्मेदवारका रुपमा अगाडि बढाएका थिए ।
गठबन्धनका दलका शीर्षनेताहरूले भण्डारीको चुनावी अभियानमा उपस्थित भएर भोट दिन आह्वान गरेका छन् । नेपाली काँग्रेस बझाङका शीर्षनेताहरूले केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, डा. सुरेश मल्ल तथा नरेश सिंह लगायतले संयुक्त चुनावी आमसभामा सहभागि भएका थिए । गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनीहरूको भनाइ छ ।
बझाङ निर्वाचन क्षेत्र २ का पालिका प्रमुख र उपप्रमुखले पनि गठबन्धनका उम्मेदवार भीम भण्डारीलाई समर्थन गर्ने जनाएका छन् । पाँचवटा स्थानीय तह रहेको बझाङ निर्वाचन क्षेत्र २ का सबै पालिका उपप्रमुखले उम्मेदवार भण्डारीलाई समर्थन गर्ने बताएका छन् ।दुर्गाथली, केदारस्यूँ, बुँगल, बित्थडचिर गाउँपालिका प्रमुखले खुलेरै भण्डारीलाई भोट मागेका छन् ।
प्रदेशसभा सदस्यका लागि बझाङ निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवार भण्डारका मुख्य प्रतिद्वन्दी नेकपा एमालेका नेता एलबी रावल छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्र मल्लको उम्मेदवारी रहेपनि जनमत भने छैन ।
एलबी रावल बझाङबाट २०७० सालको निर्वाचित संविधानसभा सदस्य हुन् । उनले त्यतीबेला नेपाली काँग्रेसका उम्मेदवार नरेस सिंहलाई पराजित गरेका थिए । तीनै प्रतिनिधिसभा सदस्य रावल अहिले प्रोटोफोलियोबाट एक तह तल झरेर प्रदेशसभामा उम्मेदवार बनेका छन् ।
ढल्किँदो उमेरकाबीच उम्मेदवार बनेका रावलको जनमत पनि पहिलेभन्दा अहिले खसकिएको छ । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी जन्मिएपछि बझाङमा एमालेको मत बाँडिएको हो । नेकपा एमालेका तत्कालीन शीर्ष नेता भानुभक्त जोशी नै समाजवादीतिर लागेपछि ठुलो हिस्सा उनीसँगै समाजवादी भएको छ ।
एलबी रावलको जनमत कति खस्किएको छ भने उनले अहिले आफ्नै ससुरालीतर्फका भोट नपाउने भएका छन् । केदारस्यूँका भण्डारी परिवारसँग वैवाहिक सम्बन्ध भएका रावल यसपालिको चुनावमा ससुरालीका भोट पाउने छाटकाट छैन । समाजवादीका जिल्ला अध्यक्ष इन्द्र भण्डारी तथा सहायक जिल्ला इन्चार्ज विरेन्द्र भण्डारीका ज्वाइँ पर्छन् एमाले उम्मेदवार रावल । समाजवादी नेताद्वय इन्द्र भण्डारी र विरेन्द्र भण्डारीले यसपाली भोटको आश नगर्न उम्मेदवार ज्वाइँलाई सार्वजनिक रूपमै अनुरोध गरेका छन् ।
केही दिन अघि झोतामा भएको गठबन्धनको संयुक्त चुनावी आमसभामा विरेन्द्र भण्डारीले विगतलाई स्मरण गर्दै एलबी रावल लक्षित अभिव्यक्ति दिएका थिए । ‘राजनीतिमा नाता गोता हुँदैन । हामी एमालेमै हुँदा पनि एकअर्काका प्रतिस्पर्धी जस्तै थियौँ । म उम्मेदवार भएको बेला ज्वाइँको बुथबाट एक मत मात्र पाएको हुँ । अर्को पटक मैले पाउने टिकट नै उहाँले खोसेर उम्मेदवार हुनु भयो । त्यसकारण यसपाली ससुरालीको भोटको आश नगर्नु होला,’ भण्डारीले सार्वजनिक कार्यक्रममै भनेका थिए ।
रावलका अर्का ससुरा हुन् समाजवादीका जिल्ला अध्यक्ष तथा केदारस्यूँ गाउँपालिका भूतपूर्व अध्यक्ष इन्द्र भण्डारी । उनी गठबन्धनका उम्मेदवार भीम भण्डारीलाई मतदान गर्न अपिल गरिरहेका छन् । स्पष्टवक्ता र अडानमा टिक्न सक्ने स्वभाव भएका इन्द्र भण्डारी गठबन्धनका उम्मेदवारलाई भोट दिनका लागि मतदातालाई आह्वान गरिरहेका छन् । एमालेका उम्मेदवार रावल नातामा ज्वाइँ परेपनि राजनीतिमा नाता गोता नहुने बताउँछन् । ‘हामी एमालेहुँदा ज्वाइँलाई एक पटक सांसद बनाएकै हौँ । यस पटक हामी समाजवादी छौँ । उहाँ एमालेको उम्मेदवार हुनुहुन्छ । ज्वाइँ भएपनि भोट दिन सकिदैन । भोट नदिए छोरी पाल्दैनौ भन्नुहुन्छ भनेपनि आफ्नै घरमा बोलाउँछु,’ इन्द्र भण्डारी ठट्यौले पारामा सहजै जवाफ दिन्छन् ।
माओवादी केन्द्रले उम्मेदवार सिफारिसका क्रममा बझाङ प्रदेश सभा क्षेत्र २ बाट भण्डारीको एकल नाम सिफारिस गरेपछि उनलाई ‘भाग्यमानी’ उम्मेदवारका रुपमा हेरिन्छ । आकांक्षी उम्मेदवार हरि कुँवर, परमानन्द चिमाडी, शान्ति नेपाली, देवकी मल्लले भण्डारीलाई नै समर्थन गरेपछि उनी एकल रुपमा उम्मेदवार सिफारिस भएका थिए ।