धम्पुसको मेरुदण्डको रूपमा रहेको घट्टे खोला-देउराली-खानि गाउँ सडक निर्माण गर्न बाधक बनेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (इआइए) स्वीकृति भएको छ । विगतका वर्षहरूमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (इआइए) स्वीकृति नहुँदा बजेट विनियोजन भए पनि निर्माण कार्य सञ्चालन हुन सकेको थिएन । सहरी विकास मन्त्रालयको वैशाख ३ गतेको सचिवस्तरिय निर्णयले घट्टे खोला–धम्पुस–खानि गाउँ सडक निर्माणको (इआइए) स्वीकृत गरेको हो ।
मन्त्रालयले सो प्रतिवेदन स्वीकृत गर्दै स्थानीय पूर्वाधार विभागलाई सडक निर्माण गर्न अनुमति दिएको छ । पत्रमा उल्लेख छ, ‘श्री ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय इकाई, श्री महल, पुलचोक, ललितपुर प्रस्तावक भई पेस भएको कास्की जिल्लाको घट्टे खोला–धम्पुस–खानि गाउँ सडक (१३.३०० कि.मि.) खण्डको यस मन्त्रालयबाट गठित पुनरावलोकन समितिले दिएको सुझावहरू समेत समावेश गरी परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिका लागि पेस भएकोमा वातावरण संरक्षण ऐन २०७६ को दफा ७ को उपदफा ५ तथा वातावरण संरक्षण नियमावली २०७७ को नियम ९ को उपनियम (८) बमोजिम तपशील बमोजिमका सर्तहरू सहित मन्त्रालयको मिति २०८१।०१।०२ को सचिव स्तरीय निर्णयअनुसार स्वीकृत भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (इआइए) स्वीकृत भइसकेकाले अब ढिलोमा एक महिनाभित्र सडक निर्माणका लागि टेन्डर खोलिने पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश (कोआरसिभाइपीएफ) आयोजना व्यवस्थापक लक्ष्मी भण्डारीले जानकारी दिए ।
सडक निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)लाई प्राविधिक डकुमेन्ट बुझाइसकिएको व्यवस्थापक भण्डारीले बताए । आयोजनाको प्रशासनिक म्यानुअलमा विगतमा १९ किलोमिटर भएकोमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा १३.३०० कि.मि. मात्रै स्वीकृत भएको हुनाले त्यस सम्बन्धी स्पष्टीकरण समेत पेस गरिएको उनले बताए ।
सडक निर्माणको जम्मा लागत बजेट ४४ करोड रहेकोमा यो आर्थिक वर्षमा एडिबीले १२ करोड रुपैयाँ विनियोजन गरिसकेको उनले जानकारी दिए । सडक निर्माणका लागि दुई वर्षको समयावधि रहेको उनले उल्लेख गरे । तोकिएको समयावधि भित्रै सडक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनले दाबी गरे ।
धम्पुस विकासको मेरुदण्डको रूपमा रहेको घट्टे खोला–धम्पुस–खानी गाउँ सडकको (इआइए) स्वीकृत भएपछि वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले उत्साह व्यक्त गरेका छन् । वषौँदेखि (इआइए) स्वीकृत नहुँदा निर्माण कार्य अगाडि बढ्न नसकेको बताउँदै वडाध्यक्ष भण्डारीले अब भने चाँडै कालोपत्रे हुने उल्लेख गरे । सडक खण्डमा संरक्षित क्षेत्र तथा स्थानीयको जग्गा पर्ने भएकोले समन्वय गर्दागर्दै पहिलो वर्ष बितेको भण्डारीले बताए । ‘(इआइए) स्वीकृत भइसेको छ । जग्गा धनीसँग पनि लगभग कुरा मिलिसकेको छ । अब कालो पत्रेको काम चाँडै टेन्डर प्रक्रियामा जान्छ,’ वडाध्यक्ष भण्डारीले भने ।
आफू निर्वाचित भएको पहिलो वर्ष देखिनै सडक कालोपत्रे गर्नका लागि जोड दिएको वडाध्यक्ष भण्डारीले उल्लेख गरे । धम्पुसको पर्यटन, कृषि तथा आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सडक निर्माण गर्न सबै किसिमको पहल गरेको वडाध्यक्ष भण्डारीले उल्लेख गरे । धम्पुसबासीको लामो संर्घष, प्रतीक्षा र प्रयासले अब चाँडै मूर्त रूप लिने वडाध्यक्ष भण्डारीले आशा व्यक्त गरे ।