जोखिम बालबालिकाको अभिलेखिकरण बारे छलफल

जयपृथ्वी नगरपालिका – ११ मा जोखिममा रहेका बालबालिकाको अभिलेखीकरण सम्बन्धी छलफल कार्यक्रम गरिएको छ । प्रगतिशील युवा समाज तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजना र जयपृथ्वी नगरपालिका – ११ को समन्वय, सहकार्यमा सोमबार अभिलेखीकरण बारे छलफल गरिएको हो ।
कार्यक्रममा बालबालिकाको संरक्षण, उनीहरूको शिक्षा तथा विकास, संरक्षण लगायतका विविध पक्षलाई प्राथमिकतामा राख्न नीतिगत व्यवस्थादेखि कार्यक्रम तर्जुमासम्म बढिरहेको बेला बालबालिकाको विषयलाई प्राथमिकता दिँदै ओझेलमा पर्दै गएका बालबालिकाको जोखिमताको विषयमा छलफल तथा केही चर्चा गरिएको छ ।

 

परिवारबाट उचित हेरचाह, शिक्षा, स्वास्थ्य, पालनपोषण लगायत समस्या, दुर्व्यवहार, यौन शोषण, श्रम शोषण, ओसारपसार, दुर्व्यसनलगायत बाल संरक्षणसँग सम्बन्धित थुप्रै समस्याका कारण बालबालिकाको जीवन जोखिमपूर्ण बन्दै गइरहेको छ।

 

बाल संरक्षण समिति (सी आर सी ) को तथ्यांकअनुसार जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मा मात्रै हालसम्म एक सय जना भन्दा बढी बालबालिका जोखिममा रहेका छन् । ती बालबालिका बाबुआमा गुमाएर घरमुली भएका, आधारभूत सेवाबाट वञ्चित, अपाङ्ग भएका, लागु औषधमा चुर्लुम्मै डुबेका, विपद्को जोखिम लगायत विभिन्न जोखिममा छन् । यी मध्ये कति बालबालिका अति जोखिममा छन् भन्ने यकिन भने हुन सकेको छैन ।

 

चरम अभाव र वन्चितिकरण्का १० वटा सूचक मध्य चार सूचकमा परेका बालबालिका अति जोखिममा पर्छन् ।
अति जोखिममा रहेका बालबालिकाको यथेष्ट पहिचान गरी सिफारिस बनाएर सम्बन्धित कार्यालय अर्थात् जयपृथ्वी नगरपालिकाको कार्यालयमा बुझाउन प्रगतिशील युवा समाजका  फिल्ड सहजकर्ता विनोद थापाले बाल संरक्षण समितिलाई आग्रह गरेका छन् । उनले भने, ‘हामी बालबालिका सँगै काम गर्छौ, बालबालिका सँगै छौँ । अहिले बालबालिकाको हकहितका लागी पालिका स्तरीय बाल अधिकार समिति बनेको छ । जयपृथ्वी नगरपालिकाले सबै वडामा बाल सञ्चालन गर्न निर्देशिका समेत तयार पारेको छ’ । अति जोखिममा रहेका बालबालिकाको पहिचान विवरण पेस गरेमा बालबालिकालाई सहयोग गरियो भने थोरै राहत हुने उनले बताए ।

 

यस्तै ११ नम्बर वडामा बालविवाह विरुद्ध निगरानी समूह गठन पनि गरिएको छ ।  कार्यवाहक वडाध्यक्ष पदमराज जोशीको अध्यक्षतामा ५ सदस्यीय निगरानी समूह गठन गरिएको छ । नवगठित समूहले गाउँ ठाउँमा बढ्दो रूपमा रहेको बालविवाह न्यूनीकरण तथा रोकथाम गर्न आवश्यक निगरानी गर्ने छ । बालविवाह भइरहेको बेला तत्कालै प्रहरीलाई जानकारी गराउने छ ।
जोखिममा रहेका बालबालिकाको अभिलेखीकरण कार्यक्रममा जनप्रतिनिधि, बाल संरक्षण समितिका पदाधिकारी, प्रगतिशील युवा समाजका पदाधिकारी, बाल सञ्जाल समूहका अध्यक्ष, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Loading...