केदारस्युँ गाउँपालिका- ६ मा सप्ताहव्यापी बाल दिवस कार्यक्रम सुरु

केदारस्युँ गाउँपालिका वडा नम्बर ६ मा “भविष्यलाई सुनौँ, बाल अधिकारको लागि उठौँ” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आज भव्य रूपमा समुद्घाटन गरिएको छ।


कार्यक्रममा बालबालिकाको अधिकार सुनिश्चित गर्न जनचेतनामूलक गतिविधि, सडक नाटक, र विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको हो । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, र बालबालिकाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

आज पहिलो दिनमा बाल विवाह विरुद्ध विद्यार्थीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा केदारस्युँ गाउँपालिका-६ का विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

जसमा चन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थी मिलन गुर्धामीले प्रथम स्थान हासिल गरेका छन् । भने केदार आधारभूत विद्यालयकी सरस्वती गुर्धामीले दित्तिय स्थान र सरस्वती आधारभूत विद्यालयका सुशील धामीले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षण भनेको बाल विवाह तथा बाल हिंसा विरुद्ध सडक नाटक प्रदर्शन थियो। यो नाटकले समुदायमा गहिरो प्रभाव पारेको छ, जसलाई सयौँ विद्यार्थी, शिक्षक, र अभिभावकहरूले अवलोकन गरेका थिए।


कार्यक्रम प्रगतिशील युवा समाज र वर्ल्ड भिजन को मुख्य सहयोग तथा सहकार्यमा सञ्चालन भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष जयबहादुर धामीले बाल अधिकार सुनिश्चित गर्न वडा पालिकाले सबै सहयोगी निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य, सुरक्षा, र अधिकारप्रति सबै पक्षले जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बालबालिकाका लागि चेतनामूलक अभियान, प्रतियोगिता, र मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिने छ। यो कार्यक्रमले बाल अधिकारप्रति समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रममा प्रगतिशील युवा समाज, वर्ल्ड भिजन तथा दलित सहयोग समाजमा कार्यरत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

Loading...