बाल संरक्षणका लागि जनचेतना: सत्यवादी माविमा प्रभावकारी कार्यक्रम सम्पन्न

Hardware adds
जयपृथ्वी नगरपालिका–११ स्थित सत्यवादी माध्यमिक विद्यालयमा प्रगतिशील युवा समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको समन्वय र जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा बालविवाह न्यूनीकरण, बाल हिंसा रोकथाम, र लागु औषध दुर्व्यसनविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा विद्यार्थीहरूलाई बालविवाह, हिंसा, र लागु औषध सेवनका कारणले बालबालिकाको भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको हो । कार्यक्रममा बालविवाह रोक्नका लागि कानुनी व्यवस्था, यसको शारीरिक, मानसिक, र शैक्षिक असरबारे विद्यार्थीलाई सचेत गराइएको छ ।

 

यस्तै बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, र जोखिमबाट बच्न समुदाय र परिवारको भूमिका, बाल अधिकार संरक्षणमा प्रहरीको भूमिका, बाल हिंसाबाट बच्न अपनाउनु पर्ने उपाय, र जोखिम अवस्थामा गरिनुपर्ने कदमहरूबारे जानकारी गराइएको थियो । त्यस्तै  लागु औषध सेवनले शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असरबारे पनि सचेतना फैलाइएको हो ।

 

कार्यक्रममा सत्यवादी माध्यमिक विद्यालयमा कक्षा -९ मा  अध्ययनरत  विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र खड्का, प्रगतिशील युवा समाजका सामाजिक परिचालक रामबहादुर सार्की अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको  उत्साहजनक उपस्थिति थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किरण जोशीले कानुनी पक्षबारे प्रस्ट्याउँदै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

 

कार्यक्रमले विद्यार्थी र स्थानीय समुदायमा बालविवाह, बाल हिंसा, र लागु औषध दुर्व्यसन रोकथामका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले बाल अधिकार संरक्षणमा थप योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

“बालबालिकाको भविष्य जोगाऔँ, हिंसा र दुर्व्यसन रोक्न जुटौँ” भन्ने नाराका साथ सम्पन्न यो कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Loading...