नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति बझाङका अध्यक्ष डिवि विष्टद्वारा धन्यवाद ज्ञापन

सुनिल मण्डेल बझाङ : नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति बझाङका अध्यक्ष डिवि विष्टले महासंघको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहकार्य गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय बझाङ, जिल्ला प्रहरी कार्यालय बझाङ, राष्ट्रिय अनुसन्धान विभाग, र शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङलाई विशेष धन्यवाद दिएका छन् । अध्यक्ष विष्टले पत्रकारिता क्षेत्रमा सिक्ने, सघाउने र योगदान पुर्‍याउनेहरूप्रति सम्मान प्रकट गर्दै सधैंभरि यस्तै साथ र समर्थनको अपेक्षा राखेका छन् ।

त्यसैगरी, उनले महासंघद्वारा सम्मानित विशिष्ट व्यक्तित्वहरूप्रति आभार व्यक्त गरेका छन् । सम्मानित व्यक्तित्वहरूमा महासंघका संस्थापक अध्यक्ष जगत खड्का, पूर्व अध्यक्ष जगदीश रोकाया, निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार रोकाया, उपाध्यक्ष सम्राट सिंह, सचिव  ललित सिंह, सह-सचिव दोरेन्द्र खड्का, प्रदेश सदस्य रमेश केसी, उपाध्यक्ष बिनाकुमारी रोकाया, सह-सचिव तरुणा जोशी, र कोषाध्यक्ष सुवास कठायत लगायत रहेका छन् ।

महासंघको निर्वाचन सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्ने निर्वाचन अधिकृत धन बहादुर खड्का, सदस्य निरनराम जोशी र मोहन मल्ल लगायत सबैलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष विष्टले महासंघले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा नयाँ सन्देश दिने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष विष्टले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् । उनले अग्रज तथा संस्थापक सदस्यहरू र निवर्तमान कार्यसमितिलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने घोषणा गरेका छन् ।

उनले १ महिनामा १ पटक बझाङको विकासका लागि महत्त्वपूर्ण विषयमा कलम चलाउने पत्रकारहरूलाई महासंघले सम्मान गर्ने निर्णय पनि गरेका छन् । साथै, महासंघले अघि सारेका विषयवस्तुमा आधारित रहेर पत्रकारितामा सक्रिय भूमिका खेल्ने पत्रकारहरूको योगदानलाई पनि विशेष महत्व दिने उल्लेख गरेका छन् ।

यस पटक महासंघले बझाङका पत्रकारहरूलाई जिल्लाको सडक तथा सवारी साधनको अवस्थाबारे कलम चलाउन आग्रह गरेको छ । अध्यक्ष विष्टले बझाङको विकास र सुधारका लागि पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनले भने, “सञ्चारमाध्यम समाजको ऐना हो । हाम्रो अभियान बझाङको विकास र नागरिकका समस्याहरूलाई उजागर गर्दै समाधानका लागि दवाव सिर्जना गर्ने तर्फ हुनेछ।” महासंघले आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट जिल्लाको विकास र समृद्धिका विषयमा सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


नवनिर्वाचित प्रतिनिधिहरूलाई प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले आफ्नो छोटो सम्बोधनमा बधाई ज्ञापन गर्दै पत्रकारिताको क्षेत्रलाई अझै मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन आग्रह गरे । उनले जिल्लाको समग्र विकास, शान्ति, र सद्भावमा पत्रकारहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै वस्तुनिष्ठ र सत्यतामा आधारित समाचार सम्प्रेषण गर्न सुझाव दिए । साथै, उनले जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको सहकार्यका लागि सधैँ तयार रहने बताए ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) युवराज भण्डारीले पत्रकारिता क्षेत्रलाई सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताले कानूनको शासन र शान्ति-सुरक्षाको प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । साथै, उनले सुरक्षा निकाय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउन आग्रह गर्दै कुनै पनि आपसी चुनौतीलाई संवाद र समझदारी मार्फत समाधान गर्न प्रतिबद्धता जनाए ।

Loading...