खानेपानीको चरम अभाव झेलिरहेको केदारस्युँ गाउँपालिका-७ भामचौर क्षेत्रमा नयाँ आशा जागेको छ । ‘मरुभूमि’ उपनामले परिचित यस क्षेत्रमा करिब डेढ सय घरधुरीका बासिन्दाहरूले पानीका लागि दैनिक घण्टौं लगाएर पानी बोक्नुपर्ने अवस्थाबाट मुक्ति पाउने बलियो सम्भावना बढेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित सक्रिय पहल गरिरहेकी छन् । भामचौरको समस्या बुझ्दै उनले आफैं पाइपको बिटो र सिमेन्ट बोकेर भामचौरबाट करिब ४ किलोमिटर टाढा सुंङ्गरेमा रहेको पानीको मुहानको स्थलगत निरीक्षण गरिन् । यस क्रममा धामी नेतृत्वको टोलीले भामचौरवासीको चुनौती र कठिनाइ नजिकबाट अध्ययन गरेको हो ।
खानेपानी अभावको समस्या समाधानका लागि केदारस्युँ गाउँपालिकाले चालु आर्थिक वर्षमा चार लाख रुपैयाँ विनियोजन गरेको छ । यस बजेटले भामचौर क्षेत्रमा पाइपलाइन बिछ्याउने र चेम्बर निर्माण गर्ने योजना अघि सारिएको छ । योजनाबाट भामचौरवासीका घरघरमा स्वच्छ खानेपानी पुग्ने अपेक्षा गरिएको छ ।
भामचौरमा यसअघि सोलार प्रणालीमार्फत पानी लिफ्टिङ योजना सुरु भए पनि प्राविधिक र व्यवस्थापकीय कारणले सफल हुन सकेन । तर, उपाध्यक्ष धामीले देखाएको संवेद्यता र सक्रियताका कारण यसपटक योजना सफल हुनेमा स्थानीयहरू आशावादी छन् ।
भामचौरवासीले उपाध्यक्ष धामीको सक्रियता र जनप्रतिनिधिको सहकार्यको खुलेर प्रशंसा गरेका छन् । खानेपानी अभावको समस्या समाधानसँगै उनीहरूको दैनिकीमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ । योजनाको प्रभावकारी कार्यान्वयनले सुक्खाग्रस्त भामचौरमा खानेपानी अभावको पुरानै गुनासो अन्त्य हुने अपेक्षा गरिएको छ ।