अन्नपूर्णको काखमा: प्रकृतिसँगको एक अविस्मरणीय यात्रा

कहिले काँही यो शहरबाट टाढा गएर मलाई हिँड्न सार्है मनपर्छ । डडेल्धुरामा जन्म भएर होला म रहर मात्रै गर्दिन, हिँड्छु पनि । हिमाल र पहाडलाई बाल्यकालदेखि नै नजिकबाट हेरेर हुर्किएको हुनाले होला, म प्राकृतिक सौन्दर्यप्रति अत्यन्तै प्रेमभाव राख्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु, दोलखाको कालिञ्चोकमा हिउँ खेल्न रुचाउँछु र मलाई अन्नपुर्ण सर्किटको छोमरोन, देउरालीको उकालोसित जति प्रेम छ, उति नै गोसाईकुण्डको ताल, चन्द्रागिरिको डाँडा होस् या तुफान डाँडाको सिर्सिरे हावा सँग प्रेम छ । जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढक्याउँछ । मानव पूर्खा एकैठाउँमा कहिल्यै स्थिर भएर बसेनन्, उनीहरु विविध उद्देश्यले हिँडिरहे । म पनि तिनै पूर्खाको एक अंश न हुँ यसपल्ट हिँड्दा हिँड्दै अन्नपुर्ण आधार शिविरमा पुग्ने चाहना भयो ।

शहरको कोलाहल, प्रदूषण र व्यस्तताबाट टाढा गएर प्रकृतिको नजिक हुन मलाई सधैं मन पर्छ । हिउँले ढाकिएका हिमाल, हरियालीले भरिएका डाँडाकाँडा, शीतल हावा, र नेपाली परिवेशले सधैं मेरो मनलाई आकर्षित गरेको छ । शरद ऋतुको समय पारेर अन्नपूर्णको यात्रा सुरु गर्ने निर्णय गर्‍यौं । वर्षमा कम्तीमा एकपटक नेपालका रमणीय स्थल घुम्ने हाम्रो परम्परा जस्तै बनिसकेको छ । गत वर्ष पनि हामीले घान्द्रुक र पूनहिलको यात्रा गरेका थियौं । त्यस यात्राको अनुभवले यसपटकको यात्रा प्रति झनै उत्साह थपेको थियो ।

नेपालका हिमाली क्षेत्रमा अवस्थित अन्नपूर्ण क्षेत्र, प्रकृतिको अनुपम सिर्जना हो । यो क्षेत्र हिमाल, हरियाली, जंगल, र सांस्कृतिक विविधताको संगम हो । विश्वका सबैभन्दा सुन्दर ट्रेकिङ गन्तव्यहरूमा यो क्षेत्रको नाम अग्रपंक्तिमा आउँछ । मेरो अन्नपूर्ण यात्राको अनुभवलाई शब्दमा उतार्न गाह्रो भए पनि यसको प्राकृतिक, सांस्कृतिक, र व्यक्तिगत पक्षलाई समेट्ने प्रयास गरेको छु ।

यात्राको तयारी

यात्रा प्रारम्भ गर्नुअघि तयारी अत्यन्त जरुरी हुन्छ । ट्रेकिङ जुत्ता, तातो कपडा, स्लीपिङ ब्याग, औषधि, र पानीको बोतलजस्ता सामग्री लिएर म तयार भएँ । मौसमअनुसार लगाउनुपर्ने कपडा र भौगोलिक अवस्थाको जानकारी हासिल गर्न मैले इन्टरनेट र साथीहरूको सल्लाह लिएको थिएँ ।

यात्रा प्रारम्भ : काठमाडौंबाट पोखरा

यात्राको पहिलो दिन काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्‍यौं । पृथ्वी राजमार्ग हुँदै २०१ किलोमिटरको यो यात्रा बाइकबाट तय गर्नुपरेको थियो । राजमार्ग चौडा बनाउने कामका कारण बाटो धुलाम्मे थियो । ठाउँठाउँमा डोजरले खोतलेको चट्टान, छरिएको धुलो र कतै चिप्लो सडकले यात्रा केही चुनौतीपूर्ण बनायो । तर विकासले सावधानीपूर्वक बाइक चलाउँदै बेलुकी झिसमिसे अँध्यारोमा हामी पोखराको पृथ्वीचोकमा पुग्यौं । लगभग ६-७ घण्टाको यात्रा हुँदा, पृथ्वी राजमार्गको पहाडी दृश्यले नै यात्रालाई रमाइलो बनायो । झरना, त्रिशूली नदी, र आसपासका हरियालीले मनलाई ताजगी दिइरह्यो !

पोखरामा हाम्रो सधैंको गन्तव्य होटेल लेकसाइडतिर लाग्यौं । होटेलमा सामान राखेर केही आराम गरेपछि पोखराको रमाइलो वातावरण अनुभव गर्न निस्कियौं । साँझको पोखरा, फेवा तालको छेउमा झिलिमिली बत्तीहरूले सिंगारिएको देख्दा मन नै प्रफुल्लित भयो ।

त्यहीबीच, हाम्रो पुरानो साथी दीपिकाबाट सन्देश आयो । उनले पोखरामै रहेको खबर दिइन् र भेट्न आग्रह गरिन् । संयोगले भएको यो पुनर्मिलनले यात्रा झनै रमाइलो बनायो । साथी दीपिका र बिन्दुसँग हामीले नजिकैको क्याफेमा गफगाफ गर्‍यौं । हाम्रो गफ–गाफले पूनहिलको यात्राको पुरानो सम्झना ताजा बनायो ।

पोखराबाट झिनू डाँडासम्म

भोलिपल्ट बिहान सूर्योदयसँगै झिनू डाँडाको यात्राका लागि हामी बाइकमा अगाडि बढ्यौं । घान्द्रुक सडक पार गर्दै अफरोडको रोमाञ्चक यात्रा गर्‍यौं । झिनू डाँडामा बाइक पार्क गरेर पैदल यात्रा सुरु गर्‍यौं । झिनू डाँडाबाट अन्नपूर्ण आधार शिविरतर्फको पैदल यात्राको पहिलो चरण निकै साहसिक थियो । पहिलो चरणमै एउटा लामो झोलुङ्गे पुल पार गर्‍यौं । पुलबाट तल बगिरहेको नदी र हरियालीले मन लोभ्यायो । त्यसपछि सुरु भयो ठाडो उकालो । उकालो पार गर्दै जाँदा हामी तातोपानी भन्ने ठाउँमा पुग्यौं । यो स्थान प्राकृतिक तातोपानीका लागि प्रसिद्ध रहेछ । पर्यटकहरू तातो पानीमा डुबुल्की मार्दै, बियरको चुस्की लिँदै रमाइरहेका थिए । तर समय अभावका कारण हामीले तातोपानीमा डुबुल्की मार्न सकेनौं । तातोपानीको सौन्दर्य र त्यहाँको वातावरणलाई मनमा संझेर फेरि झिनू फर्कियौं ।

झिनूबाट छोमरोङ्ग र बेम्बोतर्फ

अर्को दिन बिहान सबेरै झिनू डाँडाबाट छोमरोङ्गतर्फ लाग्यौं । बाटो जति कठिन थियो, त्यति नै सुन्दर थियो । हरिया डाँडाकाँडा, गगनचुम्बी हिमाल, र बाटोमा भेटिएका स्थानीय बासिन्दाको सरल जीवनशैलीले यात्रालाई अविस्मरणीय बनायो ।

छोमरोङ्गमा पुग्दा हिमालको स्पष्ट दृश्य देख्न पाइयो । हिमालको त्यो विशालता, अद्भुतता र शीतल हावाले थकान मेटाइदियो । छोमरोङ्गबाट केही ओरालो झरेर फेरि उकालो चढ्दै हामी बेम्बो पुग्यौं । बेम्बो हरियालीले भरिएको, झरनाहरूले सजिएको सुन्दर गाउँ रहेछ ।

बेम्बोबाट अन्नपूर्ण आधार शिविरसम्म

बेम्बोमा रात बिताएर बिहान हामी अन्तिम गन्तव्यतर्फ लाग्यौं । अब बाटो झन् ठाडो थियो । तर अन्नपूर्ण हिमालको नजिक पुग्ने चाहनाले हामीलाई अझ ऊर्जा दिएको थियो । बाटोमा कतै चट्टानका स–साना ढुङ्गाले बनेका उकालो, कतै हिउँले ढाकिएका गोरेटो । हिउँ परिरहेको बेला हिँड्दा खुट्टा चिसा भए पनि मन भने हिमालको सौन्दर्यमा हराइरहेको थियो ।

यो दिन यात्राको सबैभन्दा चुनौतीपूर्ण तर रोमाञ्चक भाग थियो । उकालो बाटाहरू, जँड्याहु (र्‍होडोडेन्ड्रन) जंगल, र चिसो हावाको बीचमा हामी अघि बढ्यौँ । माछापुच्छ्रे आधार शिविर (एम बी सी) हुँदै हामी अन्नपूर्ण बेस क्याम्पतर्फ लाग्यौँ ।

आखिरमा, हामी अन्नपूर्ण आधार शिविर पुग्यौं । चारैतिर हिमालले घेरेको, सेतो हिउँले ढाकिएको, र त्यसमाथि खुला आकाशले छायाँ दिएका दृश्यले हाम्रो सम्पूर्ण थकान मेटायो । त्यहाँबाट देखिएको अन्नपूर्ण शृंखलाको दृश्यले हामीलाई अभिभूत बनायो । यस्तो लाग्यो, प्रकृतिको साक्षात्कार गरिरहेका छौं ।

हिमालहरूको नजिकबाट निहार्ने अनुभव अतुलनीय थियो । चारैतिर हिमालहरूले घेरिएको बेस क्याम्पले मलाई प्रकृतिको विराटता र सान्दर्भिकताको महसुस गरायो । बेस क्याम्पमा बिहानको सूर्यको झुल्को हेर्नु मेरो जीवनकै अविस्मरणीय क्षण थियो । सुनौलो प्रकाशले अन्नपूर्ण हिमाललाई सिंगारेको देख्दा मैले आफूलाई स्वर्गमै भएको अनुभूति गरें । प्राकृतिक सौन्दर्यले गर्दा समय रोकिएकोजस्तो लाग्थ्यो ।

फर्कने बेला, उही बाटो हुँदै हामीले चोमरोङ, घान्द्रुक पार गर्दै झिन्नू डाँडा फर्कियौँ । फर्कदाको यात्रा सजिलो लागे पनि मनमा अन्नपूर्ण क्षेत्र छोड्नुपर्ने पीडा थियो ।

यात्रामा मैले केवल प्रकृतिको आनन्द लिएँ मात्र होइन, त्यहाँका स्थानीय गुरुङ समुदायका परम्परा, भेषभूषा, र सांस्कृतिक विविधता पनि नजिकबाट नियाल्ने मौका पाएँ । गुरुङ भाषा, खाना, र उनीहरूको सरल जीवनशैलीले मलाई गहिरो छाप छोड्यो ।

अन्नपूर्ण क्षेत्रको यात्रा केवल ट्रेकिङ मात्र होइन, यो आत्मचिन्तन, प्रकृतिसँगको सहअस्तित्व, र जीवनको महत्व बुझ्ने माध्यम हो । यो यात्रा मेरो जीवनको सम्झनामा सदैव रहिरहनेछ । अन्नपूर्ण क्षेत्रको सौन्दर्य, यहाँका स्थानीय बासिन्दाको सदाशयता, र यात्राका चुनौतीहरूले मलाई व्यक्तिगत रूपमा थप समृद्ध बनायो ।

अन्नपूर्ण आधार शिविरमा बिताएको त्यो क्षण शब्दमा व्यक्त गर्न गाह्रो छ । त्यहाँको हिउँको सेतोपन, चिसो हावाको स्पर्श, र हिमालले दिने सकारात्मक ऊर्जा हामीले जीवनभर बिर्सने छैनौं ।

यस यात्राले मलाई मात्र होइन, प्रकृतिप्रतिको मेरो प्रेमलाई झनै प्रगाढ बनायो । नेपालका यस्ता प्राकृतिक स्थलहरूको महत्त्व हामी नेपालीले बुझ्नैपर्छ । यदि तपाईंले कहिल्यै हिमालको काखमा रमाउने सपना देख्नुभएको छ भने, अन्नपूर्ण यात्रामा एक पटक अवश्य जानुहोस् । यसले तपाईंलाई नयाँ दृष्टिकोण, ऊर्जा, र शान्ति दिनेछ ।

Loading...