कैलालीमा दुई जना मृत अवस्थामा फेला

कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेको जानकारी दिए । उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो । उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् । प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...